दुर्गा प्रसाईं फेरि पक्राउ
१२ असोज, काठमाडाैँ । राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन । प्रसाईं आइतबार बिहान निवासबाटै पक्राउ परेका हुन ।
प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीको जाहेरीका आधारमा प्रसाईं पक्राउ परेका हुन । रचना जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा हुन ।

प्रसाईंले सार्वजनिक कार्यक्रममा रचना खतिवडाले आफ्नो छोराको मृत्युको बदलामा सांसद पद प्राप्त गरेको आशयको अभिव्यक्ति दिएका थिए । उनले ‘छोराको लाससँग सांसद पद साटेको’ भन्ने टिप्पणी गरेको विषयलाई लिएर खतिवडाले आपत्ति जनाएकी छिन ।
उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै खतिवडा गत मंगलबार प्रतिनिधिसभाको बैठकमै समेत बोलेकी थिइन । उनले आफू व्यक्तिगत राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउँदै छोरासहित जेनजी आन्दोलनका सहिदले न्याय नपाएसम्म आफू निरन्तर आवाज उठाइरहने बताएकी थिइन्।
प्रकाशित मिति : September 28, 2026 at 12:57 pm




