नापी कार्यालय कलंकीमा कार्यरत दुई कर्मचारीविरुद्ध घुस मागेको आरोपमा भ्रष्टाचार मुद्दा दायर
२२ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीमा कार्यरत दुई कर्मचारीविरुद्ध घुस मागेको आरोपमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार तत्कालीन सर्वेक्षक अमित कुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पार्धेविरुद्ध चन्द्रागिरि नगरपालिका–९ मा रहेको जग्गा हालसाबिक गरी प्लट मिलानको काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको उजुरी परेको थियो।
उजुरीमाथि अनुसन्धान गर्दा साबिक मच्छेगाउँ–९ग तथा हाल चन्द्रागिरि–९ग मा रहेको जग्गाको भूमि प्रशासनसम्बन्धी अभिलेखअनुसार गर्नुपर्ने प्रक्रिया अघि बढाउनुपर्ने अवस्थामा सेवाग्राहीसँग रकमको बार्गेनिङ गरिएको आयोगले जनाएको छ।
अनुसन्धानका क्रममा कर्मचारीद्वयले नियमानुसार गर्नुपर्ने काम नगरी सेवाग्राहीलाई विभिन्न बहानामा दुःख र हैरानी दिँदै घुसका लागि बार्गेनिङ गरेको भेटिएको आयोगको भनाइ छ।
कानुनी कारबाहीबाट जोगिन उनीहरूले घुसको रकम आफैँ नबुझी कार्यालयका सहयोगीमार्फत लिन मञ्जुर गरेको समेत पुष्टि भएको आयोगको विज्ञप्तिमा उल्लेख छ। दुवै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ५० हजार रुपैयाँ बिगो कायम गरेको छ।
प्रकाशित मिति : September 7, 2026 at 2:29 pm


