रसुवा बाढीः मृतककाे संख्या एक हजार ३५५ पुग्याे, चार हजार ९९६ जना सम्पर्कविहीन
२२ भदौ, काठमाडौँ । रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साे कुराकाे जानकारी दिएकाे हाे ।
प्राधिकरणका अनुसार फेला परेका शवमध्ये विभिन्न मानव अङ्गसमेत समावेश छन् । हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणको तथ्याङ्क छ । प्राधिकरणका अनुसार रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेको छ । बाढीमा परी करिब चार हजार ९९६ जना सम्पर्कविहीन रहेको विवरण छ ।

प्राधिकरणका अनुसार ६ हजार ६७२ जना घाइतेको उपचार गरिएको छ । तीमध्ये विभिन्न अस्पतालमा ३२३ जनाको उपचार भएकामा २२८ जना उपचारपछि फर्किएका छन् । प्रभावित क्षेत्रमा स्थापना गरिएका ३९ वटा होल्डिङ सेन्टरमा अहिले तीन हजार ५३३ जना बाढी प्रभावित रहेका छन् । तीमध्ये रसुवामा ६६९, नुवाकोटमा दुई हजार ६५१ र धादिङमा २१३ जना रहेका प्राधिकरणको भनाइ छ ।
प्रकाशित मिति : September 7, 2026 at 1:01 pm


