भोटेकोशी बाढीपीडितलाई विदुर नगरपालिकाले घरभाडा र आवश्यक सामग्री उपलब्ध गराउने
२२ भदाै, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको व्यवस्थापनका लागि विदुर नगरपालिकाले घरभाडादेखि अस्थायी आवास निर्माणसम्मका विभिन्न निर्णय गरेको छ।
विदुर नगरपालिकाको नगर कार्यपालिकाको १३४औँ बैठकले गरेका निर्णय सार्वजनिक गर्दै नगरपालिकाले बाढी प्रभावित नागरिकलाई तत्काल राहत तथा आवासको व्यवस्था गर्ने जनाएको हो।
नगरपालिकाका अनुसार विदुर नगरपालिकाभित्र बस्न योग्य घर नभएका विदुरवासीलाई घर भाडामा लिएर बस्नका लागि तत्काल प्रत्येक परिवारलाई १० हजार रुपैयाँका दरले घरभाडा रकम उपलब्ध गराइनेछ। साथै, त्यस्ता परिवारलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, किचेन सेट, हाइजिन सेटलगायतका सामग्रीसमेत उपलब्ध गराउने निर्णय गरिएको छ।
त्यसैगरी, कोठा भाडामा लिँदा वा दिँदा प्रचलित चलनचल्तीको भाडादरभन्दा बढी रकम लिएको वा दिएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने नगरपालिकाले जनाएको छ।
बाढीबाट विस्थापित नागरिकको दीर्घकालीन व्यवस्थापनका लागि तहगत सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र दाताहरूको सहकार्यमा अस्थायी आवास निर्माण गरी पुनःस्थापना गर्ने निर्णयसमेत गरिएको छ।

नगरपालिकाले अस्थायी आवास केन्द्र (होल्डिङ सेन्टर) रहेका बाहेकका विद्यालयमा भदौ २४ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ। होल्डिङ सेन्टर सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा भने केही दिनभित्र अन्य व्यवस्थापन गरी विद्यालय सञ्चालनमा ल्याइने नगरपालिकाले जनाएको छ।
यसैगरी, विदुर नगरपालिकाभित्र सञ्चालनमा रहेका होल्डिङ सेन्टरमा अन्य जिल्ला तथा पालिकाबाट भोटेकोशी बाढीका कारण प्रभावित भई आएका नागरिकलाई सम्बन्धित जिल्ला तथा पालिकासँग समन्वय गरी व्यवस्थापनका लागि आग्रह गर्ने निर्णय भएको छ।
नगरपालिकाले भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीबाट सिर्जित समस्याको समाधानका लागि यी निर्णय गरेको जनाएको छ।

प्रकाशित मिति : September 7, 2026 at 8:05 am


