विश्व प्रभावित बनाएको भोटेकोशी बाढीको नाममा आज राष्ट्रिय शोक
२२ भदाै, काठमाडौँ । पुरै विश्व प्रभावित बनाउने गरी रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ। बाढीबाट नेपालका धेरै जिल्ला र चीन, भारत, अमेरिका लगायत धेरै देशका नागरिक प्रभावित बनेका छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीमा परी अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।
राष्ट्रिय शोकका अवसरमा आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आइतबार साँझसम्म भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये एक हजार ३४२ जनाको शव फेला परेको छ। बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
फेला परेका शवमध्ये ५३० पुरुष र ३२८ महिला छन्। ४९५ वटा शव भने पहिचान हुन नसकेको अवस्थामा छन्। प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीनमध्ये स्वदेशीतर्फ दुई हजार ८२७ पुरुष र ५६७ महिला छन्। विदेशी नागरिकतर्फ २६७ पुरुष र २३९ महिला सम्पर्कविहीन छन्।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनको काम सुरक्षा निकायले निरन्तर अघि बढाइरहेको छ। फेला परेका शवमध्ये एक हजार ४४ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया जारी छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १३ हजार ३९९ जनाको उद्धार गरिएको छ।
कठिन भूगोल, अवरुद्ध सडक र जोखिमपूर्ण नदीको बहावबीच नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका हजारौँ जनशक्ति खोज तथा उद्धारमा परिचालित छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालित छन्।
नेपाली सेनाले हवाई साधनमार्फत एक हजार ४५ पटक तथा निजी क्षेत्रका हवाई साधनले १२९ पटक उडान गरी खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएका छन्।
उद्धार गरिएका नागरिकको तत्काल व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। हाल तीन हजार ९१२ जना होल्डिङ सेन्टरमा रहेका छन्।
बाढीबाट घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने कामसमेत जारी छ। हालसम्म छ हजार ७३ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको प्राधिकरणले जनाएको छ।
बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखतका लागि प्रहरीले डिएनए परीक्षणलाई प्राथमिकता दिएको छ। हालसम्म मृतक एक हजार १८१ जना र मृतकका आफन्त एक हजार १९५ जना गरी दुई हजार ३७६ जनाको डिएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ।
बेपत्ताको खोजी, उद्धार तथा फेला परेका शवको पहिचान र व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा निरन्तर परिचालित छन्।
प्रकाशित मिति : September 7, 2026 at 7:37 am


