भोटेकोशी बाढीमा किस्पाङका १४५ जना बेपत्ता, १२० परिवार विस्थापित
२१ भदौ, नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकामा गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ । गाउँपालिकाको कार्यालयले आज (भदौ २१ गते) सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदन अनुसार बाढीका कारण हालसम्म १४५ जना व्यक्तिहरू बेपत्ता भएका छन् भने १२० घरधुरी पूर्ण रूपमा विस्थापित भएका छन् ।
१४५ जना बेपत्ता, ६ को शव भेटियो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद खतिवडाद्वारा जारी विवरण अनुसार बाढीले ९५ घरधुरीका कुल १४५ जनालाई बेपत्ता बनाएको छ, जसमा ६१ जना महिला र ८४ जना पुरुष रहेका छन् । बेपत्ता भएकाहरूमध्ये हालसम्म ६ जनाको शव फेला परी पहिचान (सनाखत) भइसकेको छ ।

बेपत्ता हुनेहरूमा ठूलो संख्यामा बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू समेत रहेका छन्।
गाउँपालिकाको तथ्याङ्क अनुसार बेपत्ता हुनेहरूमा:
बालबालिका: २४ जना (१५ बालिका र ९ बालक)
ज्येष्ठ नागरिक: १८ जना (७ महिला र ११ पुरुष)
अपाङ्गता भएका व्यक्ति: २ जना (दुवै महिला)
१२० घरधुरीका ४८४ नागरिक विस्थापित बाढीका कारण आफ्नो थातथलो गुमाएर १२० परिवारका ४८४ जना नागरिक विस्थापित भएका छन् । विस्थापित हुनेहरूमा २२९ जना महिला र २५४ जना पुरुष रहेका छन् ।
वडागत रूपमा वडा नं. ५ सबैभन्दा बढी प्रभावित गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वडा नं. ५ मा बाढीले सबैभन्दा ठूलो क्षति पुर्याएको छ ।
वडागत क्षतिको विवरण यस प्रकार छ:
वडा नं. १ (भाल्चे): १५ घरधुरीका २० जना बेपत्ता भएका छन् भने ३८ घरधुरीका १७५ जना विस्थापित भएका छन् ।
वडा नं. २ (फिकुरी): ५ घरधुरीका ६ जना बेपत्ता छन् भने २ घरधुरी विस्थापित भएका छन् ।
वडा नं. ३ (काहुले): ३ घरधुरीका ४ जना बेपत्ता छन् भने २ घरधुरी विस्थापित भएका छन् ।
वडा नं. ४ (साल्मे): ७ घरधुरीका ८ जना बेपत्ता भएका छन् भने ४४ घरधुरीका १६३ जना विस्थापित भएका छन् ।
वडा नं. ५: ६५ घरधुरीका १०७ जना बेपत्ता भएका छन् भने ३४ घरधुरीका १४२ जना विस्थापित भएका छन् ।
अन्तिम विवरण संकलन कार्य जारी गाउँपालिकाले यो विवरण प्रारम्भिक रूपमा संकलन गरिएको र हाल वडा कार्यालयहरू मार्फत नामावलीको यकिन गर्ने कार्य भइरहेको जनाएको छ । बाढी पीडितहरूको अन्तिम नामावली वडा कार्यालयबाट प्रमाणित भएपछि मात्रै प्रकाशन गरिने प्रमुख प्रशासकीय अधिकृत खतिवडाले जानकारी दिएका छन । साथै, हालसम्म विवरणमा नाम छुट्न गएका पीडित तथा परिवारलाई तुरुन्त आफ्नो विवरण सम्बन्धित वडा कार्यालयमा दर्ता गराउन गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : September 6, 2026 at 2:13 pm


