कोरला नाकाबाट भित्रिने मालसामान अब काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा जाँचपास गर्न सकिने
१९ भदाै, काठमाडौं । मुस्ताङको कोरला नाकाबाट भित्रिने मालसामान अब काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा लगेर जाँचपास गर्न सकिने भएको छ । भन्सार विभागले मुस्ताङको नेचुङ भन्सार कार्यालय हुँदै पैठारी हुने वस्तुहरूलाई काठमाडौंको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपास गर्न चाहने पैठारीकर्ताका लागि सडक मार्ग तोक्दै आन्तरिक परिवहनको सुविधा दिने निर्णय गरेको हो ।
भन्सार ऐन २०६२ को दफा ६४ तथा भन्सार नियमावली २०६३ को नियम ६२ को उपनियम ७ को प्रावधान बमोजिम विभागले यो व्यवस्था मिलाएको हो । विभागका अनुसार भन्सार नियमावलीले तोकेका सर्त, प्रक्रिया लगायत व्यवस्था पालना गरी अर्को निर्णय नभएसम्म आन्तरिक परिवहनको सुविधा दिने निर्णय भएको छ । मालबाहक सवारी साधनको हकमा कोरला नाकाबाट प्रवेश गरेका सवारी नेचुङ–छुसाङ–कागवेनी–जोमसोम–बेनी–कुस्मा–पोखरा–दमौली–मुग्लिङ–कुरिनटार–नौबिसे–कलङ्की–सुक्खा बन्दरगाह भन्सार कार्यालय पुग्ने गरी रुट तय भएको छ ।

सो रुटमा समस्या आएको अवस्थामा सवारी साधन मुग्लिङ–नारायणघाट–हेटौडा–भैसे–नौबिसे–कलंकी–चोभार हुँदै सुक्खा बन्दरगाह पुग्न पाउने गरी रुट तोकिएको छ । गुडाएर लैजाने नयाँ सवारी साधनलाई तत्कालका लागि हेटौडातर्फकै रुट तय गरिएको छ । रसुवागढी नाका प्रलयकारी बाढीले तहसनहस भएसँगै अहिले मुस्ताङस्थित कोरला नाका विकल्पका रुपमा प्रयोग भइरहेको छ ।

प्रकाशित मिति : September 4, 2026 at 4:26 pm


