२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

म कहाँ छु नखोज्नुस्, परिणाम हेर्नुस्ः गृहमन्त्री गुरुङ

१९ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भइरहेको आलोचनाको जवाफ दिएका छन्।  गृहमन्त्री गुरुङले ‘कुर्सीमा बसेर कागजात समात्ने’ पुरानै शैलीको नेतृत्व खोज्नेहरूलाई ‘गलत युग’ मा रहेको र यो जेनेरेसन ग्याप रहेको टिप्पणी गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले वर्षौँदेखि फिल्डको वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दा देशले सही परिणाम भोग्न नपाएको बताएका छन् । ‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ (जेनेरेसन ग्याप),’ उनले लेखेका छन् ।

dainiki.com

उनले अगाडि लेखेका छन्, ‘विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ चिन्ता लिनु पर्दैन । अनलाइनबाट हामी हरेक ४ घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू गरिरहेका छौँ। उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ ।’

डिजिटल माध्यमको प्रयोगले प्रशासनिक र उद्धारका कामहरू टेबल पछाडि बसेर भन्दा धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको उनको दाबी छ। उनले भनेका छन्, ‘टेबल पछाडि बसेर भन्दा डिजिटल माध्यमबाट काम धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको छ। त्यसैले म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनु अनुरोध गर्नु चाहन्छु।’

प्रकाशित मिति : September 4, 2026 at 1:27 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/