१९ भदौ २०८३, शुक्रबार | Fri Sep 4 2026

सागरको सेल्फीमा श्रीरामको स्टेटस : हामी दुई घर फर्कने क्रममा छौँ

१९ भदौ, काठमाडौँ । त्रिशुली थ्री ‘ए’को सुरूङ खोज्न केही दिनदेखि फिल्डमै खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी सांसदद्धय इन्जिनियर श्रीराम न्यौपाने र सागर ढकाल पैदल र गाडी गर्दै काठमाडौँ फर्किने भएका छन । उनीहरू गयराति देखि नै काठमाडौँको यात्रामा निस्किएका थिए ।

सांसद जस्तो मान्छे उद्धारस्थलमा बसेर डिस्टर्ब गर्यो भन्दै विभिन्न टिकाटिप्प्णी भएपछि उनीहरू सुरूङ भेटिने बित्तिकै फर्किएका हुन । उद्धारका नाममा घर र परिवार दुबै छाडेर त्रिशुलीकै किनारमा बसेर काम गरिरहेका उनीहरू माथि विभिन्न खालका टिप्पणी भएका थिए । हेलिकप्टर चढेको विषयमा समेत नाकारत्मक टिप्पणी भए पनि उनीहरू थ्री ए को सुरूङबाट हिड्दै विदुर निस्केर त्यहाँबाट गाडीमा काठमाडौँ आउन लागेका हुन ।

श्रीरामले फेसबुकमा सागरले कैद गरेको तस्बिर राख्दै लेखेका छन, ‘जनै पूर्णिमाको दिनदेखि सुरु भएको कठिन यात्रा आज कृष्ण अष्टमीमा ७ औं दिनसम्म आइपुगेको छ । उद्धारका लागि त्रिशुली थ्री–ए को प्रवेशद्वार खुल्ला भएपछि पैदल र गाडी मार्फत काठमाडौँ फर्कने अवसर मिलेको छ। हामी दुई जना सुरक्षित रूपमा घर फर्कने क्रममा छौँ ।’

यस्तै सागरले भने कामको दौरान आलोचना भएकोमा दुःख मानेका छन । उनले भनेका छन, ‘सकेको गर्यौ : मानविय हिसाबले आँशिक सफल भएपनि इन्जिनियरिङ हिसाबले ठूलो सफलता देशले प्राप्त गरेको छ। फिल्डमा सबैको सहयोग थियो, सहकार्य थियो तर मिडियामा यति नकारात्मकता फैल्याइयो कि काम गर्न केही हदसम्म डिस्टर्ब चाँही भयो । सिनियर पार्टी लिडर शुध्द मिडियाकै लहै लहैमा लाग्नु पर्यो। अझै २४ घण्टा ढिलो भएको भए असफल पनि हुन सक्थ्यौँ, भगवानले अन्तिममा पुकार सुने, जोगाए। अनुरोध: देश साच्चै बनाउन मन छ भने सकिन्छ सकारात्मक सोचौँ सकिदैन फिल्डमा रातदिन खटिँदा घरभित्र बसेर मजाक कसैको पनि नगरौँ। सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद !!’

विधुत प्राधिकरणका कर्मचारी र नेपाली सेनाका उद्धारकर्मीले सागर र श्रीरामको उद्धारस्थलमा भएको उपस्थितिको विषयमा नै प्रश्न गरेका थिए । प्राधिकरणका इन्जिनियरहरूले त प्रधानमन्त्रीकोमा ज्ञापनपत्र नै पठाएको समेत समाचारहरू बाहिर सार्वजनिक भएको छ ।

प्रकाशित मिति : September 4, 2026 at 1:16 pm