१९ भदौ २०८३, शुक्रबार | Fri Sep 4 2026

त्रिशुली थ्री एको सुरुङभित्रबाट मानिस बोलेको आवाज आयो, उद्धार टोली उत्साहित

१९ भदाै, नुवाकोट । माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको छ । आयोजनास्थलमा उद्धार तथा खोजी कार्यमा संलग्न इन्जिनियर श्रीराम न्यौपानेका अनुसार उद्धारमा खटिएको टोलीले सुरुङभित्रबाट मानिसको आवाज आएको जानकारी दिएको हो।

न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिनु उद्धारको आशा जगाउने महत्वपूर्ण संकेत भएको उनले बताएका छन् ।

‘भित्रबाट मानिसको आवाज आएको जानकारी उद्धाररत सेनाबाट प्राप्त भएको छ,’ न्यौपानेले भनेका छन्, ‘नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो।’

न्यौपाने हिजो साँझसम्म इन्जिनियरको भूमिकामा आयोजनास्थलमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न थिए। अहिले भने सांसदको हैसियतमा आफू हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यहाँबाट गाडीमार्फत काठमाडौं फर्कने तयारीमा रहेको बताएका छन्।

उनले उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोलीलगायत सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै सुरुङभित्र रहेका व्यक्तिहरूको सकुशल उद्धारको अपेक्षा व्यक्त गरेका छन्। ‘आशा छ, सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइनेछ,’ उनले भनेका छन्।

भोटेकोशी बाढीपछि आयोजनाको सुरुङ तथा आसपासका क्षेत्रमा फसेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। सुरुङभित्रबाट मानिसको आवाज आएको सूचनाले भने उद्धारमा खटिएका टोली तथा आफन्तमा नयाँ आशा जगाएको छ।

प्रकाशित मिति : September 4, 2026 at 6:37 am