१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

त्रिशूली–३ ए को सुरुङभित्र ठूलो ढुंगा नछिरेको प्रारम्भिक अनुमान, अवस्था सामान्य र सुरक्षित हुनसक्ने

१८ भदाै, काठमाडौं । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि अवरुद्ध बनेको त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रको अवस्था सामान्य र सुरक्षित रहेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । ५ दिनसम्म सुरुङको बाहिरी भागमा थुप्रिएका लेदो, बालुवा, ढुंगा तथा अन्य संरचना हटाउने क्रममा प्राप्त संकेतका आधारमा बाढीको नवाैँ दिन यस्तो अनुमान गरिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य समेत रहेका इन्जिनियर श्रीराम न्यौपानेका अनुसार बाढीपछि १६० मिटर लामो केबल डक्ट टनेलको पोर्टल क्षेत्रमा थुप्रिएका दुई दर्जनभन्दा बढी ठूला बोल्डर विस्फोट गरी हटाइसकिएको छ । भदौ १३ गतेदेखि पाँच दिनसम्म दुईवटा एक्साभेटर नियमित रूपमा परिचालन गरी करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा घरको आकारका ठूला बोल्डर हटाइएको उनले जानकारी दिएका छन् ।

अवरोध हटाउने क्रममा आवश्यकताअनुसार ब्रेकर र नियन्त्रणित विस्फोटको समेत प्रयोग भइरहेको छ । उद्धार तथा सफाइको काम चौबीसै घण्टा जारी रहेको न्यौपानेले बताएका छन् ।

हाल पोर्टलको टप फेस क्राउनभन्दा करिब २.५ मिटर तलसम्मको करिब ५० मिटर लामो क्षेत्र सफा गरिसकिएको छ । ५.५ मिटर अग्लो सुरुङको बाँकी करिब तीन मिटर भागमा पहुँच तथा ड्रेनेज निर्माण सम्पन्न भएपछि मात्रै सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम सुरु गरिनेछ ।

प्रारम्भिक अवलोकनका क्रममा सुरुङको मुखबाट आँखाले देख्न सकिने करिब एक मिटरभित्रसम्मको भाग पूरै लेदोले भरिएको देखिएको छ । तर, सुरुङबाट अहिले करिब दुई लिटर प्रतिसेकेन्डका दरले पानी बाहिर निस्किरहेको न्यौपानेले बताएका छन् ।

उनका अनुसार पानी कुनै दबाबबिना बाहिर निस्किरहेकाले सुरुङभित्र पानी जमेर बसेको अवस्था नरहेको संकेत मिलेको छ ।

पोर्टलको बाहिरी भागमा गेटको स्ल्याब, काठका दुई ठूला ठुटा र ठूला बोल्डरले अवरोध गरेको पाइएको छ । यसबाट सुरुङभित्र पानी र लेदोबाहेक ठूला ढुंगा प्रवेश नगरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

सुरुङको वास्तविक भित्री अवस्था भने अझै यकिन भइसकेको छैन । तर, १६० मिटर लामो सुरुङमध्ये करिब ६० मिटरको दूरीमा एउटा ‘बेन्ड’ रहेको र त्यसपछि पावरहाउसतर्फ सुरुङ उकालो दिशामा गएको संरचनाका आधारमा भित्री भाग सामान्य र सुरक्षित रहेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको न्यौपानेले उल्लेख गरेका छन् ।

यद्यपि सुरुङभित्रको वास्तविक अवस्था लेदो हटाएर थप निरीक्षण गरेपछि मात्रै यकिन हुने भएकाले अहिलेको अनुमानलाई प्रारम्भिक प्राविधिक मूल्यांकनका रूपमा मात्र लिनुपर्ने देखिन्छ ।

घटनास्थलसम्म सडक पहुँच नहुँदा अहिले हेलिकप्टरबाट मात्रै आवश्यक सामग्री तथा उपकरण ओसारपसार गर्नुपर्ने अवस्था छ । यसका कारण मेसिन तथा उपकरण मर्मतका लागि आवश्यक सामग्री घटनास्थलसम्म पुर्‍याउन केही समय लाग्ने गरेको न्यौपानेले बताएका छन् ।

चुनौतीका बाबजुद सुरुङ सफाइ तथा अवरोध हटाउने काम निरन्तर भइरहेको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : September 3, 2026 at 6:52 am