विनाशकारी बाढीको पाँचौँ दिन प्रधानमन्त्रीले के भने ?
१४ भदाै, काठमाडौं । विनाशकारी बाढी आएको पाँचौँ दिन प्रधानमन्त्री बालेन शाहले प्रतिकूल मौसम, जटिल भूगोल र लगातारको जोखिमका कारण खोजी तथा उद्धारको काम चुनौतीपूर्ण भए पनि सरकार दृढताका साथ अघि बढिरहेको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधन तथा भौतिक क्षति पुर्याएको भन्दै क्षतिको पूर्ण विवरण संकलन गर्न अझै कठिनाइ भइरहेको बताएका हुन्।
‘काम चुनौतीपूर्ण छ, तर हामी दृढताका साथ नागरिकको जीवन रक्षाका लागि अघि बढिरहेका छौँ,’ प्रधानमन्त्री शाहले भनेका छन्।
उनका अनुसार बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म ९ हजार ४३५ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ। राहत तथा उद्धारका लागि ३९४ वटा उडान भइसकेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २० हजार ६१८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
विद्युत् आयोजनाका क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत २७९ जनाको उद्धार गरिएको छ। रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको प्रधानमन्त्रीले बताएका छन्।
चिनियाँ र कोरियाली विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी उद्धार कार्य गरिरहेका छन्। चिनियाँ टोलीले सुरुङभित्र तीन किलोमिटरसम्म खोजी गरे पनि अहिलेसम्म मानिस फेला पार्न नसकेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयास पनि जारी छ। नेपाली सेनाका इन्जिनियरको टोलीले उद्धारका लागि सुरुङमा विस्फोटको काम अघि बढाएको छ। घटनास्थलमा नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली खटिएको छ।
उद्धार टोलीले आइतबार दिउँसो सुरुङको मुख्य भागमा २ फिट चौडाइ र ३ फिट लम्बाइको प्वाल बनाएर डोरीको सहायताले भित्र प्रवेश गरेको थियो। तर, उद्धारकर्मीले पटक–पटक आवाज दिँदा पनि भित्रबाट कुनै प्रतिक्रिया नआएको प्रधानमन्त्रीले बताएका छन्। त्यसपछि ठूला उपकरण प्रयोग गर्ने, प्वाल फराकिलो बनाउने तथा विस्फोट गर्ने काम एकसाथ अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, लाङटाङ खोला र मैलुङ खोला जलविद्युत् आयोजनामा समेत नेपाली सेना तथा विदेशी विशेषज्ञ टोलीको समन्वयमा खोजी तथा उद्धार जारी रहेको उनले बताएका छन्।
बाढीका कारण घाइते भएका २६७ जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको छ। तीमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

प्रधानमन्त्री राहत कोषमा आइतबार मध्यान्हसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको उनले बताएका छन्।
रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। आइतबार मात्रै ती केन्द्रबाट ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।
बाढीका कारण अवरुद्ध सञ्चार सेवामध्ये अधिकांश पुनः सञ्चालनमा आएका छन्। नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा बिटिएस टावर सञ्चालनमा आइसकेका छन् भने प्रभावित क्षेत्रमा २० वटा भू–उपग्रह फोनसमेत पठाइएको छ।
प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण ७८१ जनाको शव फेला परेको छ। पहिचान भएका शव आफन्तलाई बुझाउने र पहिचान हुन नसकेका शवलाई कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने काम भइरहेको छ।
प्रधानमन्त्री शाहले विपद्को यस कठिन घडीमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेर प्रभावित नागरिकको जीवनरक्षा, राहत, पुनःस्थापना र पुनर्निर्माणको काम निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न सफल हुनेछौँ,’ उनले भनेका छन्।
प्रकाशित मिति : August 30, 2026 at 8:57 pm



