१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

त्रिशूली–३ ‘ए’मा रातभर उद्धार प्रयास, सम्भव नभए बिहान नियन्त्रित विस्फोट गरिने

१४ भदाै, काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका लागि सुरुङ खन्ने काम आज रातभर निरन्तर सञ्चालन गरिने भएको छ।

ऊर्जा मन्त्रालयको सचिवालयले जनाएअनुसार उद्धार टोलीले सुरुङको मुख्य भाग अर्थात् ‘क्राउन हेड’ मा प्वाल बनाएर भित्र प्रवेश गरे पनि अहिलेसम्म फसेका व्यक्तिहरूबाट कुनै प्रतिक्रिया पाउन सकेको छैन। त्यसपछि उद्धारका लागि वैकल्पिक उपायहरू अघि बढाइएको हो।

आज रातभर सुरुङ खन्ने कामसँगै सुरुङभित्र हावा आवतजावतको व्यवस्था मिलाउने र अक्सिजन पठाउने काम पनि समानान्तर रूपमा गरिने भएको छ। साथै, उद्धारकर्मीहरू घस्रिएर जान सक्ने बाटो बनाउने तयारी भइरहेको छ।

उक्त बाटो हुँदै सुरुङभित्रको स्ल्याबको माथिबाट घस्रिएर नलीको माथिल्लो भागसम्म पुग्ने र त्यहाँबाट सुरुङभित्रको अवस्थाको निरीक्षण गर्ने योजना बनाइएको छ। यसबाट उद्धार टोलीलाई सुरुङभित्र फसेका व्यक्तिसम्म पुग्ने बाटो पहिचान गर्न सहज हुने अपेक्षा गरिएको छ।

तर, यसरी उद्धारका लागि पहुँच बनाउन सम्भव नभए वैकल्पिक योजनाअनुसार भोलि बिहान सबेरै नेपाली सेनाले नियन्त्रित विस्फोट गर्ने तयारी गरेको छ। सुरुङभित्र थप क्षति नपुग्ने गरी नियन्त्रित रूपमा विस्फोट गराएर उद्धारका लागि बाटो बनाउने प्रयास गरिनेछ।

यसअघि आज दिउँसो करिब २ बजे उद्धार टोलीले सुरुङको मुख्य माथिल्लो भागमा करिब २ फिट चौडाइ र ३ फिट लम्बाइको प्वाल बनाउन सफल भएको थियो। उक्त प्वालबाट उद्धारकर्मीहरू डोरीको सहायताले तल झरेर सुरुङको तल्लो भागसम्म पुगेका थिए।

भित्र प्रवेश गरेपछि उद्धारकर्मीहरूले पटक–पटक आवाज दिएर बोलाउँदा पनि कुनै प्रतिक्रिया नआएको बताइएको छ। सुरुङभित्र पानीको सतह र विभिन्न अवरोध रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार तीन दिनदेखि लगातार खटिएको सेनाको टोलीले आइतबार सुरुङको सबैभन्दा माथिल्लो भाग फेला पारेको हो। विशेषज्ञसहितको संयुक्त टोलीले सुरुङ खन्ने यन्त्र, डोजर तथा अन्य उपकरण प्रयोग गरेर सुरुङको माथिल्लो भागसम्म पहुँच बनाएको थियो।

उद्धार अभियानमा इन्जिनियरसहित नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी ९० जना सुरक्षाकर्मी तथा प्राविधिक परिचालन गरिएको छ।

प्रकाशित मिति : August 30, 2026 at 8:35 pm