उद्धारको प्रचार सामाजिक सञ्जालमा, किस्पाङमा औषधि पुर्याउन तीन दिनको संघर्ष
१४ भदाै, नुवाकोट । नुवाकोटको बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत प्रभावकारी भइरहेको दाबी सामाजिक सञ्जालमा भइरहेका बेला किस्पाङ गाउँपालिकाको अवस्थाले भने त्यसभन्दा फरक तस्बिर देखाएको छ । बाढी आएको पाँचौ दिनसम्म पनि सडक, विद्युत् र सञ्चार सम्पर्कबाट विच्छेद रहेको किस्पाङमा दीर्घरोगीका लागि अत्यावश्यक औषधि पुर्याउनसमेत तीन दिनसम्म निरन्तर प्रयास गर्नुपरेको खुलेको छ ।
किस्पाङ गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक विनोद न्यौपानेको सामाजिक सञ्जाल टिप्पणीले नै प्रभावित क्षेत्रको वास्तविक अवस्थाबारे गम्भीर प्रश्न उठाएको हो। उनका अनुसार नेपाली सेनासँग समन्वय गरेर तीन दिनसम्म निरन्तर अनुरोध र प्रयास गरेपछि बाढीको चौथो दिन मात्रै दीर्घरोगीका लागि केही दिन पुग्ने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री किस्पाङ पुर्याउन सकिएको हो।
न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘किस्पाङ गाउँपालिकामा २०८३ भाद्र १३ गते प्रभावित क्षेत्र दीर्घरोगीहरूको केही दिनलाई पुग्ने अति आवश्यक औषधि र सामग्रीहरू अथक प्रयासपश्चात् किस्पाङ पुर्याउन सफल भएका छौँ।’ उनले स्थलमार्गबाट समेत अत्यावश्यक सामग्री पुर्याउने प्रयास जारी रहेको बताएका छन्।

यो विवरणले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि राहत तथा स्वास्थ्य सामग्रीको पहुँच कति कठिन छ भन्ने देखाउँछ। सामाजिक सञ्जालमा उद्धार र राहतका गतिविधिका तस्बिर तथा विवरण सार्वजनिक भइरहेका भए पनि किस्पाङजस्तो अतिप्रभावित क्षेत्रमा सामान्य स्वास्थ्य आवश्यकतासमेत पूरा गर्न दिनौँ लागिरहेको छ।
सञ्चारविहीन छन् ३६ जिल्लाका विद्यार्थी र स्थानीय
किस्पाङमा बाढीले भौतिक संरचनामा क्षति पुर्याउनुका साथै सञ्चार सम्पर्कसमेत विच्छेद गरेको छ। गाउँपालिकाभित्र रहेका नागरिकले आफन्तसँग सम्पर्क गर्न नसक्ने अवस्था छ।
किस्पाङमा स्वास्थ्यतर्फको प्राविधिक शिक्षा अध्ययन गर्न देशका विभिन्न ३६ जिल्लाबाट विद्यार्थी पुगेका छन् । देशका ४६० गाउँपालिकाहरू मध्ये स्वास्थ्यतर्फको प्राविधिक शिक्षा सञ्चालन गर्ने किस्पाङ पहिलाे स्थानीय सरकारको हो । बाढीपछि किस्पाङमा पढ्न गएका विद्यार्थीहरूसमेत परिवार र आफन्तसँगको सञ्चार सम्पर्कबाट विच्छेद भएका छन् । आफ्ना छोराछोरी तथा आफन्तको अवस्थाबारे परिवारले सहज रूपमा जानकारी लिन नसक्दा बाहिर रहेका आफन्तमा थप चिन्ता बढेको छ ।

पाँच दिनमा पनि आएन बिजुली
बाढी आएको तीन दिन बितिसक्दा पनि किस्पाङमा विद्युत् सेवा पुनः सञ्चालन हुन सकेको छैन। सडक र सञ्चारसँगै विद्युत् सेवा अवरुद्ध हुँदा बाढी प्रभावितको दैनिकी थप कष्टकर बनेको छ। विद्युत् नहुँदा सञ्चारका साधन चार्ज गर्नेदेखि अत्यावश्यक स्वास्थ्य सेवासम्म प्रभावित भएको छ। बाहिरी संसारसँग सम्पर्कको मुख्य माध्यमसमेत अवरुद्ध हुँदा प्रभावित नागरिकको समस्या सम्बन्धित निकायसम्म पुर्याउन कठिन भइरहेको छ।

किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार खतिवडाले आइतबार बिहानै फेसबुक मार्फत भनेका छन, ‘किस्पाङ गाउँपालिकामा हालको मुख्य समस्या बत्तीको रहेको र अस्ति हिजो र आजका दिनसम्म हाम्रो मुख्य प्रयत्न बत्ति लैजाने कुरामा केन्द्रित रहेको छ । भर्खर मात्र नेपाल विधुत प्राधिकरणका प्रमुखसँग कुरा हुँदा मौसमले साथ दिए आज बेलुकासम्म नभए भोलिसम्म बत्ति पुग्ने जानकारी आएको छ । हामी उर्जा मन्त्रालय र प्राधिकरण संग नियमित सम्पर्क गरिरहेका छौं ।’
राहतको प्रचार र गाउँको वास्तविकताबीच दूरी
किस्पाङको अवस्था हेर्दा बाढीपछिको राहत व्यवस्थापनमा प्रचार र पहुँचबीचको दूरी देखिन्छ । उद्धार तथा राहत प्रभावकारी भइरहेको सरकारी तथा सामाजिक सञ्जालका दाबीबीच दीर्घरोगीका लागि केही दिन पुग्ने औषधि गाउँ पुर्याउन तीन दिनसम्म निरन्तर अनुरोध गर्नुपर्ने अवस्था आफैँमा गम्भीर प्रश्न हो ।
यद्यपि भौगोलिक कठिनाइ, सडक संरचनामा पुगेको क्षति र बाढीका कारण सिर्जिएको प्रतिकूल अवस्थाले उद्धार तथा राहतमा चुनौती थपेको छ । नेपाली सेनालगायतका सुरक्षा निकायको समन्वयमा उद्धार तथा राहतको प्रयास जारी रहे पनि सबै प्रभावित बस्तीमा तत्काल पहुँच पुग्न नसकेको अवस्था छ।
किस्पाङका लागि अहिले राहत सामग्रीभन्दा पनि सडक, विद्युत् र सञ्चार सम्पर्क पुनःस्थापना प्राथमिक आवश्यकता बनेको छ। त्यससँगै दीर्घरोगीका लागि नियमित औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको निरन्तर आपूर्ति सुनिश्चित गर्नुपर्ने देखिन्छ।
बाढीको चौथो दिनमा बल्ल औषधि गाउँ पुग्नुले एउटा महत्वपूर्ण प्रश्न भने छाडेको छ, सामाजिक सञ्जालमा देखाइएको उद्धारको तस्वीर र बाढीले घेरिएको किस्पाङको वास्तविक अवस्थाबीच आखिर यति ठूलो दूरी किन ?
प्रकाशित मिति : August 30, 2026 at 3:01 pm



