१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

कप्तान सन्दीपले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने

१४ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका छन्। सन्दीपले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक १ लाख २० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने जानकारी दिएका हुन् ।

एसीसी प्रिमियर कप खेल्न मलेसियामा रहेको नेपाली टोलीका कप्तान सन्दीपले सामाजिक सञ्जालमार्फत आफूहरू देशबाट टाढा भए पनि मन भने नेपालमै रहेको उल्लेख गरेका छन् । उनले देशमा कठिन परिस्थिति रहेकाले आफूहरूको मन नेपालमै रहेको उल्लेख गर्दै प्रतियोगितामा मैदानमा आफ्नो शतप्रतिशत दिने बताएका छन्। नतिजाभन्दा पनि आफ्नो प्रदर्शनले स्वदेशमा रहेका नेपालीको अनुहारमा केही खुसी ल्याउन र उत्साह प्रदान गर्न सकोस् भन्ने आफूहरूको चाहना रहेको उनले बताएका छन्।

dainiki.com

 त्यसैगरी सन्दीपले एसीसी प्रिमियर कपभरि नेपालले लिने प्रत्येक विकेटबापत १ हजार ५ सय रुपैयाँ र नेपाली टोलीले प्रहार गर्ने प्रत्येक चौका तथा छक्काबापत पनि १ हजार ५ सय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनले यस्तो सहयोग बाढीबाट प्रभावित बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिने पनि उल्लेख गरेका छन्।

प्रकाशित मिति : August 30, 2026 at 1:45 pm