बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा निरन्तर
१४ भदौ, काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस कल, डाटा र एसएमएस सेवा अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ।
यसअघि भदौ १४ गतेसम्मका लागि उपलब्ध गराइएको यो सुविधाको अवधि थप गरिएको हो। बाढी प्रभावित क्षेत्रका सेवाग्राहीले प्रतिदिन २ जीबी डाटा, ५० एसएमएस तथा निःशुल्क भ्वाइस कल सुविधा उपयोग गर्दै आएका छन्। बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको काम जारी रहेकाले सञ्चार सम्पर्क सहज बनाउन निःशुल्क सेवा निरन्तरता दिइएको टेलिकमले जनाएको छ।

बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा क्षतिग्रस्त संरचनाको मर्मतसम्भारका लागि प्राविधिक टोली निरन्तर परिचालन भइरहेको कम्पनीले जनाएको छ।
टेलिकमका अनुसार अधिकांश क्षतिग्रस्त संरचना पुनः सञ्चालनमा आइसकेका छन्। बाँकी संरचना पनि शीघ्र सञ्चालनमा ल्याउन प्राविधिक टोली खटिरहेको छ। विपद्को समयमा प्रभावित नागरिकलाई आफन्तजनसँग सम्पर्कमा रहन तथा उद्धार र राहत कार्यमा समेत सञ्चार सेवा सहज बनाउन निःशुल्क सुविधा उपयोगी हुने कम्पनीको विश्वास छ। नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार उपलब्ध निःशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ।
प्रकाशित मिति : August 30, 2026 at 11:59 am



