१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

कैलास यात्रामा निस्किएका शिव र राजेश बाढीपछि केरुङबाट सम्पर्कविहीन, खोजिदिन परिवारको आग्रह

१३ भदौ, काठमाडौं । कैलाश मानसरोवर यात्राका लागि नेपाल–चीन सीमा केरुङ पुगेका शिव न्यौपानेले फेसबुकमा केरूङ नाकामा उभिएर खिचेको आफ्नो तस्विर राख्दै लेखेका थिए, ‘जहाँ शब्दहरू मौन हुन्छन्, जहाँ मन शान्त हुन्छ, जहाँ आत्माले महादेवलाई महसुस गर्छ‘ त्यही हो कैलाश। हर हर महादेव । जीवनको एउटा ठूलो सपना र इच्छा,महत्वपूर्ण यात्रा, महादेव को बुलावा, चीन को दोश्रो भ्रमण, नितान्त धार्मिक यात्रा ।’

शिवले यो स्टाटस फेसबुकमा राखेको केही समयपछि नै भोटेकोसीमा भिषण बाढी आयो । उक्त बाढीपछि शिव सम्पर्कविहिन बनेका छन् ।

उनिसँगै कैलास मानसरोवरको यात्रामा निस्किएका धादिङको गंगाजमुना गाउँपालिका–५ का राजेश तिमल्सीना पनि बाढीपछि सम्पर्कविहीन भएका छन्।

शिवले केरुङ पुगेपछि आफ्नो यात्राबारे फेसबुकमा स्टाटस राखेका थिए। उनले यो यात्रा आफ्नो ‘जीवनको एउटा ठूलो सपना र इच्छा’ भएको उल्लेख गर्दै ‘महादेवको बुलावा’ र नितान्त धार्मिक यात्राका रूपमा व्याख्या गरेका थिए। तर केरुङबाट कैलाशतर्फ अघि बढ्ने क्रममा आएको भीषण बाढीपछि शिव र राजेशको अवस्थाबारे परिवार बेखबर छ ।

उनीहरू माइटी हिमालय ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत कैलाश मानसरोवर यात्रामा गएका थिए। कम्पनीमार्फत यात्रामा गएका उनीहरू बुधबार बिहान करिब १० बजेदेखि सम्पर्कविहीन भएको परिवारका सदस्य बताउँछन् ।

शिव र राजेशसहित कैलाश यात्रामा रहेका ५ जना नेपाली र ७ जना विदेशी गरी १२ जना यात्रु बाढीपछि सम्पर्कविहीन भएका छन्।

बाढीका कारण उक्त क्षेत्रमा सडक तथा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले सम्पर्कविहीन यात्रुहरूको अवस्थाबारे तत्काल यकिन जानकारी प्राप्त हुन सकेको छैन ।

परिवारजनले सम्भावित सबै स्थानमा खोजी गरी उनीहरूको अवस्थाबारे जानकारी गराउन आग्रह गरेका छन्।

प्रकाशित मिति : August 29, 2026 at 6:32 pm