बाढीले टुटेको रसुवाको सडक सम्पर्क जोडियो, टोखा–छहरे हुँदै धुन्चेसम्म साना सवारी चल्न थाले
१२ भदाै, काठमाडौँ । त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सडक सञ्जालबाट टुटेको रसुवा पुनः सडकमार्गसँग जोडिएको छ। काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको हो।
भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत उक्त सडकखण्ड सञ्चालनमा आएको जानकारी दिएका छन्। उनका अनुसार सडकखण्ड सुचारु भएसँगै बाढीपछि सडक सम्पर्कबाट अलग बनेको रसुवा पुनः सडक सञ्जालसँग जोडिएको छ।
त्रिशूली नदीमा आएको भीषण बाढीले सडकका विभिन्न भागमा ठूलो क्षति पुर्याएपछि रसुवासँगको नियमित सडक सम्पर्क विच्छेद भएको थियो। सडक भत्किएपछि जिल्लामा आवतजावत, अत्यावश्यक सामग्रीको आपूर्ति तथा उद्धार र राहत कार्यसमेत प्रभावित भएको थियो।

लामो प्रयासपछि सडकखण्डमा आवश्यक मर्मत तथा पुनःस्थापनाको काम सम्पन्न गरी चार चक्के साना सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था बनाइएको मन्त्री लम्सालले बताएका छन्।
सडक खुलेसँगै रसुवाबाट काठमाडौंलगायतका विभिन्न स्थानमा आवतजावत सहज हुने अपेक्षा गरिएको छ। साथै बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका सामग्री पुर्याउनसमेत सहज हुने भएको छ।
यद्यपि बाढीले सडक संरचनामा पुर्याएको क्षति पूर्ण रूपमा पुनःनिर्माण हुन बाँकी रहेकाले तत्कालका लागि सडकखण्डमा साना चार चक्के सवारीसाधन मात्रै सञ्चालन गर्न सकिने अवस्था रहेको जनाइएको छ।
प्रकाशित मिति : August 28, 2026 at 4:56 pm



