१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

विपद्को दुई घण्टादेखि नै फिल्डमा किस्पाङको टिम, तीन सय बढी नागरिक शिविरमा

१२ भदौ, नुवाकोट । महाविपत्तिका कारण किस्पाङ गाउँपालिका संकटपूर्ण अवस्थामा पुगे पनि स्थानीय तहले उद्धार, राहत तथा प्रभावित नागरिकको पुनर्मिलनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। विपद् भएको दुई घण्टाभित्रै कर्मचारी तथा जनप्रतिनिधिलाई विभिन्न जिम्मेवारी बाँडफाँड गरी फिल्डमा परिचालन गरिएको गाउँपालिकाले जनाएको हो।

किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाका अनुसार विपद्पछि गाउँपालिकाको विद्युत् तथा सडक सञ्जाल पूर्णरूपमा विच्छेद भएको थियो। मोबाइल नेटवर्कसमेत अवरुद्ध भएपछि प्रभावित नागरिकसँग सम्पर्क स्थापित गर्नसमेत कठिनाइ भएको थियो।

खतिवडाले विपद् भएको केही समयदेखि नै जिल्ला प्रशासन कार्यालय, नेपाली सेना तथा अन्य सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको बताएका छन्। उनी कार्यालय प्रमुखहरूको बैठकका लागि विदुरमा रहेका बेला घटना भएको र त्यसलगत्तै उद्धार तथा राहतका लागि सुरक्षा निकायसँग समन्वय सुरु गरिएको उनको भनाइ छ।

मोबाइल नेटवर्क सञ्चालनमा ल्याउनसमेत गाउँपालिकाले पहल गरेको थियो। विभिन्न निकायसँगको समन्वयपछि जेनेरेटर टावरसम्म पुर्‍याइएको र गाउँपालिकाका कर्मचारी तथा सहयोगीहरूले पेट्रोलको व्यवस्था गरेपछि टावर सञ्चालनमा आएको खतिवडाले बताएका छन्। त्यसपछि किस्पाङ, रसुवा र नुवाकोटका विभिन्न स्थानमा सीमित रूपमा भए पनि मोबाइल सेवा सञ्चालनमा आएको उनले बताए।

विपद्पछि गाउँपालिकाले उद्धारसँगै घाइते तथा बिरामीलाई सुरक्षित स्थानमा ल्याउने कामलाई प्राथमिकता दिएको छ। डेलिभरीको मिति नजिक रहेकी एक गर्भवती महिलालाई अर्चलेबाट उद्धार गरी विदुर ल्याइएको छ। हाइड्रोपावर क्षेत्रबाट उद्धार गरिएका केही संवेदनशील बिरामीलाई समेत उद्धार गरी विदुर ल्याइएको गाउँपालिकाले जनाएको छ।

यस्तै, किस्पाङ गाउँपालिकामा स्थापना गरिएको शिविरमा हाल ३०० भन्दा बढी नागरिक रहेका छन्। उनीहरूमध्ये धेरैका परिवारका सदस्य अझै सम्पर्कविहीन रहेको र १५० भन्दा बढी परिवारका सदस्य हराइरहेको अवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत खतिवडाले बताएका छन्।

शिविरमा रहेका नागरिकका लागि दाल, चामललगायत प्रारम्भिक खाद्यान्नको व्यवस्था गरिसकिएको छ। तर आगामी दिनमा खाद्यान्नसँगै सुत्ने कपडा, प्रभावित नागरिकका लागि एकसरो कपडा, सोलार ब्याकप्याक तथा उद्धार र राहतमा प्रयोग हुने सवारीसाधनका लागि डिजेल र स्वास्थ्यकर्मीका लागि पेट्रोलको अभाव हुन सक्ने गाउँपालिकाले जनाएको छ।

उद्धार तथा राहतका लागि गाउँपालिकाका उपाध्यक्ष अर्जुन न्यौपानेको नेतृत्वमा वडा अध्यक्ष, कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली फिल्डमै परिचालित छ। गाउँपालिकामा कार्यरत एमबीबीएस चिकित्सकसहितको स्वास्थ्य टोली पनि प्रभावित क्षेत्रमा खटिएको खतिवडाले बताएका छन्।

यसैबीच, किस्पाङ गाउँपालिकाभन्दा बाहिर रहेका बालबालिकालाई सुरक्षित रूपमा गाउँपालिकामा ल्याएर परिवारसँग पुनर्मिलन गराउने विषयमा समेत छलफल अघि बढाइएको छ। सञ्चारमन्त्री विक्रम तिम्सिनासमेतको उपस्थितिमा भएको छलफलपछि पहिलो चरणमा किस्पाङभन्दा बाहिर रहेका ४३ जना बालबालिकाको नामावली सम्बन्धित निकायमा बुझाइएको गाउँपालिकाले जनाएको छ।

खतिवडाका अनुसार अबको मुख्य प्राथमिकता प्रभावित नागरिकलाई प्रारम्भिक राहत उपलब्ध गराउनुका साथै सम्पर्कविहीन परिवारका सदस्यको खोजी तथा पुनर्मिलन गराउनु हुनेछ।

‘महाविपत्तिका बेला राज्यले गर्नुपर्ने पहिलो काम मानव जीवनको रक्षा र आधारभूत मानवअधिकारको संरक्षण हो,’ खतिवडाले भनेका छन्, ‘किस्पाङ गाउँपालिका यही प्राथमिकताका साथ निरन्तर उद्धार, राहत र समन्वयमा जुटिरहेको छ।’

गाउँपालिकाका प्रशासन प्रमुख चन्द्र वाइवा, किस्पाङ बहुप्राविधिक शिक्षालय प्रमुख विनोद न्यौपानेसहितको टोलीसमेत प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहत व्यवस्थापनमा जुटेको छ। गाउँपालिकाले आगामी चरणमा आवश्यक खाद्यान्न, कपडा, प्रकाशका सामग्री तथा इन्धनको व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।

प्रकाशित मिति : August 28, 2026 at 1:40 pm