रसुवा बाढी प्रभावितका लागि एबीपी इनर्जी र बुद्धभूमि हाइड्रोपावरद्धारा १० लाख सहयोग
११ भदौ, नुवाकोट । रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा गएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दुई जलविद्युत् कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।
नुवाकाेटकाे दुप्चेश्वर–१, घ्याङफेदीमा रहेको ८ मेगावाटको एबीपी इनर्जी पब्लिक लिमिटेडले ५ लाख रुपैयाँ र दुप्चेश्वर–६ तथा पञ्चकन्या–४ मा रहेको ५ मेगावाटको बुद्धभूमि नेपाल हाइड्रोपावर पब्लिक लिमिटेडले ५ लाख रुपैयाँ गरी कुल १० लाख रुपैयाँ उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।
दुवै कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले विपदबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको जानकारी दिँदै विपद्को यस कठिन घडीमा सबैलाई संयम, धैर्य र एकताका साथ एक–अर्कालाई सक्दो सहयोग गर्न अपिल गरेका छन्।

कम्पनीहरूले हिमपहिरोमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, बेपत्ता तथा प्रभावितहरूको यथाशीघ्र उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
दुवै कम्पनीले विपद्को समयमा मानवीय सहयोगका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति : August 27, 2026 at 7:28 pm



