निजी सवारीका लागि नागढुंगा सुरुङमार्ग खुला, निशुल्क प्रयोग गर्न पाउने
८ भदौ, काठमाडौं । नागढुङ्गा सुरुङमार्ग सोमबारदेखि निजी सवारी साधनका लागि खुला गरिएको छ। उद्घाटन भएको एक महिनापछि यो सुरूङमार्ग निजी सवारी साधनका लागि खुला गरिएको हो । ९ जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानलगायत निजी सवारी साधनलाई काठमाडौँ–धादिङ आवागमनका लागि अनुमति दिइएको हो। सुरुङमार्ग परीक्षणका रूपमा खुला गरिएको हो।

आजका लागि परीक्षणस्वरूप एकतर्फी सञ्चालनमा आएको सुरुङमार्ग भोलिदेखि भने दुईतर्फी नै सञ्चालनमा आउनेछ । हाललाई बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङमार्ग सञ्चालनमा ल्याइने छ। परीक्षण अवधिभर कुनै शुल्क लाग्ने छैन। उद्घाटनको समयदेखि हालसम्म आपतकालीन सवारीलाई मात्र सुरुङ प्रयोग गर्न दिइएकोमा अब भने निजी सवारी साधनले पनि प्रयोग गर्न पाउनेछन् । सुरुङ मार्ग सुरक्षा युनिटका अनुसार निश्चित समयका लागि मात्र निजी सवारी साधनलाई सुरुङ मार्गमा प्रवेश दिइएको हो ।
प्रकाशित मिति : August 24, 2026 at 12:58 pm


