रिजाल परिवारको हुण्डी सम्राज्य : नेपालका बैंक र कनेक्ट आईपीएस बने भुक्तानीको माध्यम
-माधवप्रसाद तिवारी
६ भदौ, काठमाडौँ । वैदेशिक रोजगारीका लागि रसिया पुगेका नेपालीहरूको पसिना र आर्जनलाई अवैध माध्यमबाट अपचलन गर्दै नेपाल र भारतसम्म फैलिएको एउटा विशाल हुण्डी साम्राज्यको पर्दाफास भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा शुक्रबार दर्ता गरेको एक अभियोग पत्रअनुसार, धादिङ सत्यदेवी घर भई हाल काठमाडौँ बस्ने एकै परिवारका सदस्यहरूले एक अर्ब अठ्ठान्ब्वे करोड सन्तान्ब्वे लाख चालिस हजार तीन सय अठ्ठाइस रुपैयाँ १९ पैसा बराबरको अवैध हुण्डी कारोबार र विदेशी मुद्रा अपचलन गरेको पुष्टि प्रहरीले गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को लामो अनुसन्धानपछि दायर गरिएको यस मुद्दाले एकै साथ नेपालको वित्तीय प्रणाली, वैधानिक रेमिट्यान्स च्यानल र सहकारीहरूलाई कसरी संगठित रूपमा अवैध कारोबारका लागि दुरूपयोग गरिँदै आएको छ भन्ने कुराको उजागर गरेको छ । यस मुद्दाका मुख्य प्रतिवादी राजेन्द्र प्रसाद रिजाल हाल प्रहरी हिरासतमै रहेका छन भने उनका सहोदर भाइ सुमन रिजाल (सुजिवन) र बुहारी पविता उपाध्याय हाल रसियामा रहेका छन । प्रहरीले सुमन र पविता फरार रहेको जनाएको छ ।
अपराधको अन्तर्राष्ट्रिय जालो: रसियादेखि नेपाल र भारतसम्म
अनुसन्धानका क्रममा प्रतिवादीहरूको अभूतपूर्व र आधुनिक अपराध गर्ने शैली प्रयोग गरेको पाइएको छ । रसियामा बस्दै आएका फरार प्रतिवादी सुमन रिजाल र उनकी श्रीमती पविता उपाध्यायले त्यहाँ कार्यरत नेपाली कामदारहरूबाट नेपाल पैसा पठाइदिने प्रलोभनमा ठूलो परिमाणमा विदेशी मुद्रा (रुबल र डलर) संकलन गर्ने गरेका थिए । प्रहरी प्रतिवेदन अनुसार उनीहरूले संकलन भएको विदेशी मुद्रा रसियामै सेटलमेन्ट गरेर नेपालमा शोधभर्ना मार्फत राजेन्द्र प्रसाद रिजालले नेपाली रूपैयाँमा भुक्तानी गर्ने गरेका थिए ।

उता सुमन र पविताले विदेशी मुद्रा संकलन गरेपछि उनीहरूको इसारामा यता राजेन्द्रले सम्बन्धित परिवारका सदस्यहरूलाई नेपाली रुपैयाँ भुक्तानी गर्ने गरेको पाइएको छ । हुण्डीको साम्राज्य खडा गरेका राजेन्द्र पनि १० वर्ष रसियामै बसेर फर्किएको पाइएको छ । उनी सन् १९९७ देखि २००७ सम्म रसियामै रोजगारीमा रहेका थिए नेपाल फर्केपछि उनलाई भाइ सुमनले मासिक पच्चिस हजार रुपैयाँ तलब दिने गरी नेपालमा हुण्डी संकलन र वितरणको जिम्मा दिएको बयानमा खुलेको छ । राजेन्द्रले झण्डै १५ वर्षसम्म निर्बाध रूपमा यो अवैध धन्दा चलाउँदै आएका थिए । उनको धन्दाबारे प्रहरीले सुइँको पाएपछि भने उनी २०८३ साउन १२ गते काठमाडौँकै नागार्जुन नगरपालिका-८, राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ परेका थिए । उनीहरू धादिङको सत्यदेवी वडा नम्बर ८ का स्थायी बासिन्दा हुन ।
ह्वाट्सएप म्यासेज र नोटको नम्बर : डिजिटल कोडमार्फत भुक्तानी
यो नेटवर्कले भुक्तानी र संकलनका लागि अत्यन्त सुरक्षित र गोप्य कोड प्रणाली प्रयोग गर्ने गरेको ब्यूरोको डिजिटल फरेन्सिक ल्याबको विश्लेषणबाट पुष्टि भएको छ । राजेन्द्रको साथबाट बरामद रेडमी कम्पनीको मोबाइलमा रहेका ह्वाट्सएप च्याटहरू, अडियो रेकर्ड र तस्बिरहरूले उनीहरूको अवैध कार्यको अकाट्य प्रमाण दिएको प्रहरीले जनाएको छ ।

कारोबारका क्रममा रकम बुझाउन आउने वा रकम लैजाने व्यक्तिहरूको पहिचान गर्न भारतीय तथा नेपाली नोटको सिरियल नम्बरलाई ‘टोकन’ वा ‘कोड’ को रूपमा प्रयोग गरिएको पनि अनुसन्धानबाट पत्ता लागेको छ । उदाहरणका लागि, भारतबाट कपडा आयात गर्ने व्यापारी सुकुन्द प्रसाद प्रधानले राजेन्द्रलाई नेपालमा नगद बुझाएपछि भारतको अहमदाबादमा रहेका आफ्ना फेब्रिकेटरलाई भुक्तानी दिलाउन “Rs 10 notno 06D 169047” जस्ता १० रुपैयाँका भारतीय नोटका तस्बिर र सिरियल नम्बर ह्वाट्सएपमा कोडका रूपमा पठाउने गर्थे । सोही कोड देखाएर भारतमा रहेका एजेन्टहरूले त्यहाँ भारतीय रुपैयाँ भुक्तानी दिन्थे । राजेन्द्रको मोबाइल ग्यालरीमा यस्ता दर्जनौँ भारतीय रु. १० र २० का नोटहरू र नेपाली रु. ५०० र १००० का नोटका बन्डलका तस्बिरहरू समेत फेला परेका छन्, जसलाई हुण्डी कारोबारको हिसाब र भुक्तानी प्रमाणीकरणका लागि सुरक्षित राखिएको थियो ।

बैंकिङ च्यानल र कनेक्ट आईपीएसको चरम दुरुपयोग
यस गिरोहले नेपाल सरकारको नियामक निकाय र कर प्रणालीलाई छल्न नेपालका प्रायः सबै स्थापित वाणिज्य बैंकहरूमा खाता खोलेको देखिएको छ । अझ रोचक कुरा त के छ भने, यी खाताहरू राजेन्द्र प्रसाद रिजालले ‘पावर अफ एटोर्नी’ (अख्तियारी) लिएर सञ्चालन गरेको पाइएको छ ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबाट प्राप्त विवरण अनुसार प्रतिवादीहरूले प्रविधिको दुरुपयोग गरी करोडौँको डिजिटल ट्रान्जेक्सन गरेका छन् । सुमन रिजालले (User ID: RIJALSUMAN78): एउटै युजर आईडिमा ग्लोबल आइएमई, सानिमा, माछापुच्छ्रे, सिटिजन्स, हिमालयन, नबिल, कुमारी, एभरेष्ट, सिद्धार्थ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सहित १२ वटा बैंकका खाताहरू लिंक गरेको पाइएको छ । सन् २०२० देखि २०२६ सम्म उनको यो युजर आइडीबाट एक अर्ब बाह्र करोड सतचालिस लाख बयासी हजार पाँच सय बहत्तर रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ ।

पविता उपाध्यायले (User ID: PABITA1980) आफ्नो कनेक्ट आईपीएसमा ११ वटा बैंक खाता लिंक गरी सन् २०२१ देखि २०२६ सम्म सतहत्तर करोड सत्र लाख छपन्न हजार आठ सय बयासी रुपैयाँको कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान प्रतिवेदनले देखाएको छ । कारोबारलाई वैध देखाउन राजेन्द्रले बैंक भौचरहरूमा जम्मा गर्दा वा ट्रान्सफर गर्दा “सापटी” वा “सापटी फिर्ता” लेखेर वित्तीय प्रणालीलाई भ्रमित तुल्याउने काम गरेको अुनसन्धानबाट देखिएको छ ।
स्थानीय व्यापारी र सहकारीको संलग्नता
यस हुण्डी नेटवर्कमा काठमाडौँका रैथाने व्यापारी र केही सहकारी संस्थाहरूको समेत शंकास्पद भूमिका फेला परेको छ: सपु एक्सपोर्ट एण्ड इम्पोर्टका सञ्चालक सुकुन्द प्रसाद प्रधानले भारतको अहमदाबादबाट कपडा आयात गर्दा बैंकिङ च्यानल प्रयोग नगरी राजेन्द्र रिजालमार्फत करिब बीस लाख रुपैयाँ हुण्डीमार्फत पठाएको प्रहरीसँगको वयानमा स्वीकार गरेका छन् । प्रधानले हरेक कारोबारमा राजेन्द्रलाई रु. ५०० देखि १००० सम्म कमिसन दिने गरेका थिए ।
सुन्धारामा पसल सञ्चालन गर्ने भाटिया इलेक्ट्रिकल्सका नरेश कुमार भाटियाले भारतको दिल्लीमा रहेका आफ्ना दाइलाई घरायसी खर्च पठाउने निहुँमा राजेन्द्र रिजालमार्फत करिब तीस लाख रुपैयाँ हुण्डीमार्फत पठाएका थिए र प्रति कारोबार ५ देखि १० हजार रुपैयाँसम्म कमिसन बुझाएका थिए ।

सहकारीको प्रयोग: ‘अर्किड बचत तथा ऋण सहकारी संस्था’ र ‘श्रीपुर विनायक बचत तथा ऋण सहकारी संस्था’ का बजार प्रतिनिधिहरू मुनामाया कार्की र मिलन कार्की मार्फत सहकारीका सञ्चालकहरूको निर्देशनमा लाखौँ रुपैयाँका चेक र नगद प्रतिवादी राजेन्द्र रिजालको बैंक खातामा जम्मा गरिएको भौचर समेत प्रहरीले बरामद गरेको छ । यसले सहकारीको बचत रकम समेत हुण्डी जस्तो अवैध धन्दामा परिचालन भएको प्रहरीले अनुमान गरेको छ ।
पारिवारिक व्यवसायको आवरणमा हुण्डी लुकाउने प्रपञ्च
अवैध वित्तीय कारोबारको वास्तविक स्रोत लुकाउन र कालो धनलाई वैध देखाउन राजेन्द्रले पारिवारिक व्यावसायिक संस्थाहरूको नामलाई ‘ढाल’ बनाएको देखपएको छ । अभियोग पत्रअनुसार उनका दाइ ऋषि प्रसाद रिजाल, शर्मीला रिजाल र फरार रहेका सुमन रिजाल सञ्चालक रहेको चितवनको सौराहा स्थित ‘हर्मिटेज प्रा.लि.’ तथा दाइ ऋषि प्रसाद मात्र सञ्चालक रहेको ठमेल (काठमाडौँ) स्थित ‘हर्मिटेज ट्राभल्स एण्ड टुर्स प्रा.लि.’ मा राजेन्द्रको कुनै औपचारिक आबद्धता, पद वा सेयर स्वामित्व नभए पनि बैंकिङ नियामकको आँखा छल्न उनले बैंक खाताहरूको ग्राहक पहिचान विवरण (KYC) भर्दा ती कम्पनीहरूको झुठो विवरण पेस गरेको पाइएको छ । उनले सानिमा बैंकको खाता (नं. ००३०११०७०००००२४) मा आफूलाई सौराहास्थित कम्पनीको ‘म्यानेजर’ दाबी गर्दै वार्षिक १० देखि १५ लाख रुपैयाँसम्म आम्दानी हुने झुठो विवरण भरेका छन । त्यस्तै, अंशबण्डा भइसकेपछि पनि ठमेलको ट्राभल्स कम्पनी भाग लाग्न बाँकी रहेको बहाना बनाउँदै अर्को बैंक खाताको केवाईसी विवरणमा सोही संस्थाको नाम उल्लेख गरी वार्षिक चार लाख पचास हजार आम्दानी देखाएर हुण्डीको अवैध आर्जन चोख्याउने प्रपञ्च रचेको राजेन्द्रले बयानका क्रममा स्वीकार गरेका छन् ।

अवैध आर्जनबाट सम्पत्ति शुद्धीकरण र विलासी लगानी
हुण्डी कारोबारबाट आर्जित अवैध कालो धनलाई यो परिवारले रियल स्टेट र सेयर बजारमा लगानी गरी शुद्धीकरण गर्ने प्रयास गरेको देखिन्छ। राजेन्द्र रिजालले आफ्नी श्रीमती सावित्री रिजाल र आफ्नो नाममा चितवनको रत्ननगर-१ पिठुवामा ३ कठ्ठा, बगुलेमा ५ कठ्ठा ४ धुर र काठमाडौँ नागार्जुन-१ रानीबनमा ५.५ आना जग्गा र साढे दुई तलाको पक्की घर खरिद गरेका छन् । यो सम्पत्ति रसियाबाट हुण्डीमार्फत आएको रकमबाट जोडिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।
मुद्दती खाता र सेयर बजारमा ठूलो लगानी: प्रतिवादी सुमन रिजाल र पबिता उपाध्यायको विभिन्न बैंकका मुद्दती खाताहरूमा मात्रै २ करोड ६२ लाख ४ हजार रूपैयाँ फेला परेको छ । जसलाई प्रहरीले अनुसन्धानकै क्रममा रोक्का गरेको छ । यसका अतिरिक्त सुमन रिजालको डिम्याट खातामा विभिन्न ३२ वटा भन्दा बढी कम्पनीहरूको एक लाख छैसठ्ठी हजार नाै सय एकानब्बे कित्ता र पविता उपाध्यायको नाममा दुई सय पन्चानब्बे कित्ता सेयर लगानी रहेको फेला परेको छ । यो सबै अवैध हुण्डी कारोबारकै प्रतिफल रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।
मागदाबी र कानुनी सजाय
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रतिवादीहरू राजेन्द्र प्रसाद रिजाल, सुमन रिजाल र पबिता उपाध्याय विरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिम इजाजतपत्र विना अवैध विदेशी विनिमय र हुण्डी कारोबार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । सरकारी वकिल विमल पन्थीले ऐनको दफा ९६ को उपदफा (१) बमोजिम कुल विगो रकम एक अर्ब अन्ठानब्बे करोड सन्तानब्बे लाख चालिस हजार तीन सय बयासी रूपैयाँ १९ पैसाको तीन गुणासम्म अर्थात ६ अर्बसम्म जरिवानाको माग गरिएको छ भने सात वर्षसम्म कैद सजायको पनि माग गरिएको छ । साथै रोक्का गरिएका बैंक खाता र मुद्दती खातामा रहेका सम्पूर्ण रकम जफत गर्न र अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति शुल्क असुल गरी ‘पीडित राहत कोष’ मा जम्मा गरिनुपर्ने माग गरिएको छ ।

प्रकाशित मिति : August 22, 2026 at 7:19 pm


