१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

अध्यक्षलाई ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भने भन्दै प्रेस काउन्सिलका चार सदस्यको विज्ञप्ति

१३ असोज, काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्षलाई धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै काउन्सिलका चार सदस्यले पत्रकार दीपक पाण्डेको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन ।

काउन्सिलको लेटरप्याडमा हस्ताक्षर गरेर मंगलबार जारी प्रेस विज्ञप्तिमा नेपाल पत्रकार महासंघको नेतृत्वसँग लोककल्याणकारी विज्ञापनसम्बन्धी छलफलका क्रममा पाण्डेले काउन्सिलका अध्यक्षलाई ‘झ्यालबाट टिपेर फालिदिन्छु’ लगायतका धम्कीपूर्ण अभिव्यक्ति दिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिअनुसार छपाइ माध्यमबाट बजार सुझाव कार्यदलका मागका सम्बन्धमा काउन्सिल अध्यक्षको कार्यकक्षमा छलफल जारी रहेका बेला सहभागीमध्येबाट काउन्सिलका कर्मचारीलाई अपमानजनक व्यवहारसमेत भएको थियो । काउन्सिलले उक्त व्यवहारको भर्त्सना गरेको छ।

छलफल र असहमतिका क्रममा धम्कीपूर्ण भाषा स्वीकार्य हुन नसक्ने भन्दै काउन्सिलले आफ्नो पेशागत माग राख्ने अधिकारको सम्मान गर्ने तर संस्थागत संवादमा मर्यादित र जिम्मेवार व्यवहारको अपेक्षा गरेको जनाएको छ।

पाण्डे प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यसमेत हुन् । काउन्सिलको काम, संरचना र अधिकार क्षेत्रबारे जानकारी राख्ने पूर्व बोर्ड सदस्यबाटै अध्यक्षलाई धम्की दिइएको भनिएको घटनाले काउन्सिलभित्रको असहमति कुन तहसम्म पुगेको हो भन्ने प्रश्नसमेत उठेको छ ।

लोककल्याणकारी विज्ञापनसम्बन्धी विषयमा भएको छलफलका क्रममा विवाद उत्पन्न भएको बताइए पनि पाण्डेले काउन्सिल अध्यक्षलाई धम्की दिएको भनिएको घटनाको विस्तृत कारण र उनको पक्ष भने सार्वजनिक भइसकेको छैन ।  काउन्सिलको विज्ञप्तिले भने असहमति व्यक्त गर्ने क्रममा समेत संस्थागत मर्यादा र जिम्मेवार व्यवहार कायम गर्नुपर्नेमा जोड दिएको छ ।

अध्यक्ष उमेश श्रेष्ठले पनि यो समाचार तयार पार्दासम्म आफ्नो धारणा कतै सार्वजनिक गरेका छैनन् । तर सदस्यहरूले भने आफ्नो अध्यक्षमाथि धम्की आएको भन्दै काउन्सिलकै लेटरप्याडमा विज्ञप्ति जारी गरेका छन ।

प्रकाशित मिति : September 29, 2026 at 6:57 pm