स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा.सुधा बस्नेत (सदस्यहरूको सूचीसहित)
२ भदाै, काठमाडाैँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा.सुधा बस्नेत र उपाध्यक्षमा डा.नारायणबहादुर महोत्रा नियुक्त भएका छन । नवनियुक्त अध्यक्ष,उपाध्यक्ष तथा परिषद्का सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।
परिषद्को सदस्यमा गणेश दंगाल, सन्तोषकुमार ठाकुर,सतिसकुमार देव,धर्मागत भट्टराई र रबा थापा नियुक्त भएका छन । नवनियुक्त अध्यक्ष डा.सुधा बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान,महाराजगञ्ज मेडिकल क्याम्पसको बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छिन । वरिष्ठ बालरोग विशेषज्ञ, प्राध्यापक तथा अनुसन्धानकर्ताका रूपमा परिचित डा .बस्नेतले भारतको युनिभर्सिटी अफ कलकत्ताबाट एमबीबीएस,त्रिभुवन विश्वविद्यालयबाट बालरोगमा एमडी तथा नर्वेको युनिभर्सिटी अफ बर्गेनस्थित सेन्टर फर इन्टरनेसनल हेल्थबाट पीएचडी गरेकी छिन ।

त्यस्तै,नवनियुक्त उपाध्यक्ष डा.नारायणबहादुर महोत्रा त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान,महाराजगञ्ज मेडिकल क्याम्पसमा क्लिनिकल फिजियोलोजी विषयका प्राध्यापक तथा विभागीय प्रमुख हुन । उनले चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमडी (क्लिनिकल फिजियोलोजी),एमबीबीएस तथा जनरल मेडिसिनमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेका छन । उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नैतिक समीक्षा समिति (एथिकल बोर्ड) मा रहेर स्वास्थ्य अनुसन्धानसम्बन्धी कार्यमा समेत योगदान पुर्याएका छन ।
नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहणसँगै परिषद्को नेतृत्वले स्वास्थ्य अनुसन्धानलाई थप प्रभावकारी,गुणस्तरीय र प्रमाणमा आधारित बनाउँदै अनुसन्धानका उपलब्धिलाई स्वास्थ्य नीति तथा सेवासँग जोड्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : August 18, 2026 at 7:56 pm


