३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

जाजरकोट पहिरोमा परी तीन जनाले ज्यान गुमाए, दुई अझै बेपत्ता

३१ साउन, जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। पहिरोमा परी बेपत्ता भएका दुई जनाको भने खोजीकार्य जारी छ।

साउन ३० गते साँझ करिब ५ः३० बजे आएको पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ साल्धारा निवासी ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएका कार्कीको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

यसअघि पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव खोजीका क्रममा फेला परेको थियो। उनीहरूको शव फेला परेसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको हो।

अहिले भेरी नगरपालिका–२ चिसापानी निवासी ७० वर्षीय भीमबहादुर कार्की र सोही नगरपालिकाको गैरीगाउँ निवासी १४ वर्षीय हरिस बि.क. अझै बेपत्ता छन्। हरिस पहिरोपछि घरबाट निस्किएपछि सम्पर्कविहीन भएका हुन्।

बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल गुल्म जाजरकोट र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। साउन ३१ गते बिहानदेखि सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा विपद् व्यवस्थापन तालिमप्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले खोजीकार्य गरिरहेको छ।

पहिरोमा परी ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते भएका छन्। घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज र सुर्खेत पठाइएको छ।

पहिरोका कारण स्थानीय आठवटा घरमा समेत ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीकाका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बेपत्ता दुई जनाको खोजीकार्य जारी छ।

प्रकाशित मिति : August 16, 2026 at 9:54 am