३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

रोकिराखेको बस आफैं गुड्दा भीरबाट खस्यो, नुवाकोटमा दुई महिलाको मृत्यु

३० साउन, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङस्थित टोखा–छहरे सडकखण्डमा रोकिराखेको यात्रुवाहक बस आफैं गुडेर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ। दुर्घटनामा तीन महिला घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार शनिबार बिहान करिब ८ः२५ बजे काठमाडौंबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ००५२ नम्बरको बस सडकछेउमा रोकिएको थियो। चालकसहित अधिकांश यात्रु खाजा खान बसबाट ओर्लिएका बेला अचानक बस आफैं गुड्न थालेको थियो।

नियन्त्रणबाहिर गएको बसले अगाडि रोकिराखेको बा.प्र.०३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि बस र भ्यान दुवै सडकबाट करिब ३० देखि ४० मिटर तल भीरमा खसेका थिए।

बसमा सवार अधिकांश यात्रु खाजा खान ओर्लिए पनि पाँच महिला यात्रु भने बसभित्रै थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूमध्ये दुई जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय नुवाकोटका प्रमुख विनोद ढकालले जानकारी दिए।

मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको सुनापति गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्री छन्।  दुर्घटनामा घाइते भएका तीन महिलालाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये सर्लाहीको लालबन्दी–९ घर भई काठमाडौं काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेलको दाहिने हातमा, काभ्रे बनेपा–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठको बायाँ हातमा तथा दोलखाको मेलुङ–६ घर भई काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठको टाउको र ढाडमा चोट लागेको छ।

प्रहरीका अनुसार घाइते तीनै जनाको अवस्था मध्यम छ। उनीहरू बोल्न सक्ने अवस्थामा छन्। घटनालगत्तै पुगेको प्रहरी टोलीले बस चालक काभ्रेको पाँचखाल नगरपालिका–७ का ४५ वर्षीय सिताराम आचार्यलाई नियन्त्रणमा लिएको छ। रोकिराखेको बस अचानक गुड्नुको कारण ह्यान्डब्रेकमा समस्या भएको हो वा अन्य कुनै प्राविधिक त्रुटि भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

बसमा दुर्घटनाका बेला कति यात्रु सवार थिए भन्ने यकिन विवरण भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : August 15, 2026 at 11:50 am