प्रधानमन्त्री बालेन र वर्षमान पुनबीच भेटवार्ता, रोल्पा बाढी पहिरोबारे राखे चार माग
२९ साउन, काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन्। आज सिंहदरबारमा पुनले प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।
‘रोल्पामा निरन्तर भइरहेको विपद्बाट भएको जनधनको क्षतिबारे आज सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूसँग भेट गरी जिल्लाको जनप्रतिनिधिका रूपमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छु’, पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पछिल्ला दिनमा आएको बाढी तथा पहिरोबाट रोल्पामा धेरै मानिसको मृत्यु, बेपत्ता र घाइते भएका छन् । कतिपय बस्ती नै बगेका छन् । घर–आवास, पशुचौपाया तथा खाद्यान्नमा क्षति पुगेको छ भने सडक, खानेपानी, विद्यालयलगायतका सार्वजनिक संरचना भत्किएका छन् । यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने कुरा राखेको छु ।’
रोल्पाको विपदसम्बन्धमा नेता पुनले प्रधानमन्त्री बालेनसमक्ष चारवटा माग राखेको पुनको सचिवालयले जनाएको छ। पुनले रोल्पाको उवा तथा भित्रीगामका पहिरोमा परी मानिसहरु अझै बेपत्ता रहेकाले खोजी तथा उद्धारलाई तीव्रता दिन र घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न माग गरेका छन्।
बाढी–पहिरोमा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, आवासविहीन भएकाहरूलाई तत्काल अस्थायी आवास तथा राहत र दीर्घकालीन पुनः स्थापनाको व्यवस्था गर्न आग्रह गरेका छन् ।
नेता पुनले क्षतिग्रस्त पूर्वाधारहरुको यथाशीघ्र पुनर्निर्माण सुरू गर्न पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन्।
विशेषगरी अवरूद्ध सडक, खानेपानी विद्यालय लगायत सार्वजनिक संरचना तत्काल सञ्चालनमा ल्याउन उनले माग गरेको नेता पुनको सचिवालयले जनाएको छ।
प्रकाशित मिति : August 14, 2026 at 2:58 pm


