२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

कास्की र पर्वत जोड्ने २ पुल बाढीले बगायो

२९ साउन, कास्की । कास्की र पर्वत जोड्ने मोदीखोलामा आएको बाढीले दुईवटा मेटल पुलसहित अन्नपूर्ण माता मन्दिरको आधा भाग बगाएको छ । बाढीले मन्दिरमा रहेका एक जना सन्त पुजारीसहित तीन जनालाई मन्दिरमै फसाएको छ ।

साउन २९ गते राति करिब २ः१५ बजे अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमामा पर्ने नयाँपुल–वीरेठाँटी सडकखण्डनजिकै मोदीखोलामा आएको बाढीले मन्दिरसम्म मानिस आवतजावत गर्ने पर्वत र कास्कीतर्फका दुईवटा मेटल पुल बगाएको हो।

बाढीले मन्दिरको समेत आधा भाग बगाएको र मन्दिरमा रहेका एक जना सन्त पुजारी तथा दुई जना भक्तजन फसेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी उद्धारमा परिचालन भएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट चार जना रोप रेस्क्यु र तीन जना गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको छ। आवश्यक विपद् उद्धार सामग्रीसहित सुरक्षाकर्मीलाई राति २ः३५ बजे घटनास्थलतर्फ खटाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उद्धार टोलीले मन्दिरमा फसेका तीन जनालाई सुरक्षित बाहिर निकाल्न प्रयास गरिरहेको छ। खोलामा पानीको बहाव तीव्र रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : August 14, 2026 at 7:48 am