२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

ढल्केवर ट्रमा सेन्टरबारे सरकारलाई सदनमा जानकारी गराउन सभामुखको निर्देशन

२२ साउन, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको अवस्थाबारे प्रतिनिधिसभालाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले ट्रमा सेन्टर अन्यत्र सार्ने तयारी भइरहेको भन्दै आपत्ति जनाएपछि सभामुख अर्यालले सरकारलाई तत्काल वास्तविकता स्पष्ट पार्न निर्देशन दिएका हुन् ।

सभामुख अर्यालले, ‘आजै माननीय चन्द्रमोहन यादवले उठाउनुभएको विषयमा वास्तविकता के हो ? यसबारे सदनलाई जानकारी गराउन म सरकारलाई निर्देशन दिन्छु ।’

dainiki.com

बैठकमा सांसद यादवले ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि आवश्यक अध्ययन, पूर्वतयारी तथा मन्त्रिपरिषद्को निर्णय भइसके पनि लामो समयदेखि काम अघि नबढेको बताए । साथै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा सेन्टर अन्यत्र निर्माण हुने अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आपत्ति जनाए ।

उनले ढल्केवर पूर्व–पश्चिम राजमार्ग र कोशी राजमार्गको संगमस्थल हुनुका साथै मधेश प्रदेशको राजधानी जनकपुरधामसँग जोडिएको प्रमुख व्यापारिक तथा यातायात केन्द्र भएकाले यहाँ दैनिक सवारीसाधनको अत्यधिक चाप रहने बताए । यसका कारण सडक दुर्घटनाको जोखिम उच्च रहेको उल्लेख गर्दै ट्रमा सेन्टर निर्माण अपरिहार्य भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : August 7, 2026 at 3:01 pm