२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

एलपीजी ग्यास आपूर्ति सहज बनाउन आयल निगमद्वारा ‘क्विक रेस्पोन्स टिम’ गठन

२० साउन, काठमाडौं । बजारमा एलपीजी ग्यास आपूर्तिसम्बन्धी गुनासो बढेपछि नेपाल आयल निगमले आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि गठित टोलीले बुधबारदेखि नै काम सुरु गरेको निगमले जनाएको छ।

मन्त्री यादवले उपभोक्ताको घरमा कुनै पनि अवस्थामा खाना पकाउने ग्यासको अभाव हुन नदिन निर्देशन दिएपछि उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग र ग्यास व्यवसायीका प्रतिनिधि सम्मिलित संयन्त्र गठन गरिएको हो।

क्विक रेस्पोन्स टिममा उद्योग मन्त्रालयका तर्फबाट मङ्गल बिष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगका तर्फबाट आयुस नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्। निगमका अनुसार टोलीको मुख्य जिम्मेवारी देशका जुनसुकै स्थानमा एलपीजी ग्यासको अभाव वा वितरणसम्बन्धी समस्या देखिए तत्काल समन्वय गरेर समाधान गर्नु हो।

dainiki.com

टिमले नेपाल आयल निगमको हटलाइनमा प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित ग्यास उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गरी उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाउनेछ।

पछिल्लो समय विभिन्न जिल्लाबाट ग्यास नपाएको गुनासो बढेपछि तत्काल समस्या समाधानका लागि यस्तो संयन्त्र गठन गरिएको निगमले जनाएको छ। कार्यालय समयभित्र प्राप्त हुने गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गरी सकेसम्म तत्काल समाधान गर्ने लक्ष्य राखिएको छ।

एलपीजी ग्यास आपूर्तिसम्बन्धी समस्या वा गुनासो भए उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन्। उक्त नम्बरमा प्राप्त हुने गुनासोमाथि क्विक रेस्पोन्स टिमले आवश्यक समन्वय गरी समाधान प्रक्रिया अघि बढाउने निगमले जनाएको छ।

प्रकाशित मिति : August 5, 2026 at 2:28 pm