नार्पाभूमि गाउँपालिकाको बेरुजु शून्य: वित्तीय अनुशासनमा नमुना बन्दै मनाङको दुर्गम स्थानीय तह
-नवीन अंकुर
१८ साउन, मनाङ । मनाङको विकट हिमाली क्षेत्रमा अवस्थित नार्पाभूमि गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा बेरुजु शून्य कायम गर्न सफल भएको छ। नेपाल लेखापरीक्षण व्यवस्थापन प्रणाली (NAMS) को तथ्यांक अनुसार गाउँपालिकाले चालू आर्थिक वर्षको लेखापरीक्षणमा उठेका सम्पूर्ण कैफियतहरू फर्छौट गरी बेरुजु रकम शून्य बनाएको हो।
महालेखापरीक्षकको कार्यालयको प्रणाली अनुसार आर्थिक वर्ष २०८१/८२ मा प्रारम्भिक बेरुजु देखिएको रु ७७,६४,४३१ (सत्तरी लाख चौंसठ्ठी हजार चार सय एकतीस) नै आवश्यक प्रतिक्रिया तथा प्रमाण पेस गरी शतप्रतिशत फर्छौट गरिएको छ। यससँगै गाउँपालिकाको बाँकी बेरुजु रकम शून्यमा झरेको छ।

प्रतिबद्धता अनुसारको नतिजा
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिल लम्सालले कार्यालयमा हाजिर भएकै दिनदेखि आफ्नो कार्यकालमा गाउँपालिकाको बेरुजु शून्य बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सोही प्रतिबद्धता अनुसार दैनिक आर्थिक कारोबारलाई चुस्त, पारदर्शी र वित्तीय अनुशासनभित्र रहेर सञ्चालन गरिएकाले यो सफलता सम्भव भएको लम्सालले बताउनुभयो।
प्रणालीमा उल्लेख भएअनुसार, प्रमुख प्रशासकीय अधिकृत लम्साल हाजिर भएपश्चात् आर्थिक वर्ष २०८१/८२ को मात्र नभई अघिल्ला आर्थिक वर्षहरू २०७८/७९, २०७९/८० र २०८०/८१ मा बाँकी रहेका बेरुजु तथा असुली गर्नुपर्ने रकमहरू समेत नियमानुसार फर्छौट भई शून्य कायम भएका छन्।
”बेरुजु फर्छौटमा निरन्तर लागिपर्नु नै वित्तीय अनुशासन कायम गर्ने मुख्य ओखती हो। आगामी दिनमा पनि यस्तै प्रतिबद्धताका साथ काम गर्न सके देशमै आर्थिक तथा वित्तीय सुशासनको उत्कृष्ट नमुना प्रस्तुत गर्न सकिन्छ।”
दुर्गम भौगोलिक बनावट र स्रोत-साधनको सीमितताका बाबजुद पनि नार्पाभूमि गाउँपालिकाले कायम गरेको यो आर्थिक सुशासन अन्य स्थानीय तहका लागिसमेत प्रेरणादायी बनेको छ।
प्रकाशित मिति : August 3, 2026 at 6:17 pm



