जुलाईमा नेपाल भित्रिए ७१ हजार पर्यटक, ६१ प्रतिशतले बढे चिनियाँ पर्यटक
१८ साउन, काठमाडौं । नेपालमा सन् २०२६ जुलाईमा ७१ हजार ७ सय ७५ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशत बढी हो । सन् २०२५ जुलाईमा ७० हजार १ सय ९३ पर्यटक नेपाल आएका थिए ।
पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट २३ हजार ४९० जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको ३२.७३ प्रतिशत हो । जुलाईमा चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । जुलाई २०२६ मा चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन् ।
यो अघिल्लो वर्षको जुलाईमा आएको ६ हजार ८९० को तुलनामा ६१.०९ प्रतिशत बढी हो । सन् २०१९ को जुलाईमा चीनबाट १० हजार २१५ जना पर्यटक आएका थिए । यसरी चिनियाँ पर्यटक आगमन कोभिडपूर्व अवस्थाभन्दा ८.६५ प्रतिशत माथि पुगेको छ । त्यसैगरी तेस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट जुलाईमा ७ हजार ७५४ जना पर्यटक आएका छन् ।
यस्तै, बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटक नेपाल आएका छन् । क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्या सबैभन्दा बढी छ । जुलाईमा सार्क मुलुकबाट २९ हजार ७५५ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ४१.४६ प्रतिशत हो । तर, यो संख्या अघिल्लो वर्षको ३३ हजार ७८७ को तुलनामा ११.९३ प्रतिशत कम छ । भुटानबाट आउने पर्यटकको संख्या ९९१ जना रहेको छ । पाकिस्तानबाट आउने पर्यटक ३.९४ प्रतिशतले बढेर ४७५ पुगेका छन् । श्रीलंकाबाट ५८१ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको ५९८, माल्दिभ्सबाट ३९, २.८४ प्रतिशत कम हो ।
दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट जुलाईमा १७ हजार ४२४ जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको २४.२८ प्रतिशत हो । अघिल्लो वर्षको जुलाईमा १३ हजार ५२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस आधारमा हेर्दा अन्य एसियाली बजारमा ३३.०५ प्रतिशत वृद्धि भएको छ । यस समूहमा चीनपछि दक्षिण कोरियाबाट १ हजार ३९४, मलेसियाबाट १ हजार ३८०, जापानबाट १ हजार १११, भियतनामबाट ५७४, सिंगापुर र म्यानमारबाट समान ४३७ तथा थाइल्यान्डबाट ४२८ जना पर्यटक आएका छन् । युरोपबाट जुलाईमा ९ हजार २७९ जना पर्यटक नेपाल आएका छन् । कुल आगमनमा युरोपको हिस्सा १२.९३ प्रतिशत रहेको छ ।
युरोपमा बेलायतबाट ३ हजार ७७३, जर्मनीबाट ७२३, स्पेनबाट ६८१, फ्रान्सबाट ६४४, नेदरल्यान्ड्सबाट ५१४, पोर्चुगलबाट ४८९ र रूसबाट ४६७ जना पर्यटक आएका छन् । अमेरिकी मुलुकबाट ८ हजार ८२४ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । ओसियानियाबाट २ हजार ६०७ जना पर्यटक आएका छन् । मध्यपूर्वबाट जुलाईमा ७३६ जना पर्यटक आएका छन् । अफ्रिकी मुलुकबाट भने जुलाईमा ३२४ जना पर्यटक नेपाल आएका छन् ।
प्रकाशित मिति : August 3, 2026 at 3:28 pm



