१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

संरचनामा क्षति पुगेपछि रिडी पावरको ९.९ मेगावाट क्षमताको आयोजना बन्द

१८ साउन, काठमाडौं । बाढी र पहिरोका कारण रिडी पावर कम्पनी लिमिटेडको इवा खोला जलविद्युत् आयोजना बन्द भएको छ । कम्पनीले ९.९ मेगावाट क्षमताको इवा खोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन असार २६ गतेदेखि अस्थायी रूपमा रोकिएको जनाएको हो ।

कम्पनीका अनुसार गत जेठदेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले आयोजनाको हेडरेस पाइपलाइन रहेको क्षेत्रमा नदी कटान गर्दा पाइपलाइनका आधार संरचना तथा अन्य सिभिल संरचनामा क्षति पुगेको हो।

निरन्तर वर्षा र भूक्षयका कारण पाइपलाइनमाथि अत्यधिक दबाब सिर्जना हुँदा विभिन्न स्थानमा पाइप फुट्ने तथा चिरा पर्ने समस्या देखिएको कम्पनीले जनाएको छ । आयोजना पुनः सञ्चालनमा ल्याउने उद्देश्यले विभिन्न चरणमा मर्मत तथा परीक्षण कार्य गरिए पनि परीक्षणका क्रममा पुनः पाइपलाइनका विभिन्न स्थानमा क्षति देखिएको बताइएको छ।

विस्तृत प्राविधिक मूल्याङ्कनपछि सामान्य मर्मत वा वेल्डिङमार्फत मात्र आयोजना सुरक्षित रूपमा सञ्चालन गर्न सम्भव नरहेको निष्कर्ष निकालिएको कम्पनीको भनाइ छ। हाल स्थायी समाधानका लागि आवश्यक प्राविधिक अवलोकन तथा मर्मत कार्य अघि बढाइएको कम्पनीले जनाएको छ। आयोजना पुनः सञ्चालनमा आउने मिति र समय यकिन भएपछि थप जानकारी गराइने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : August 3, 2026 at 1:42 pm