१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

आन्तरिक पर्यटन व्यवस्थापनसँगै उच्च उचाइको जोखिम न्यूनीकरणमा जोड

१८ साउन, ​मनाङ । गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यसोधा रिमालले पछिल्लो समय नेपालीहरूमा भ्रमण गर्ने संस्कृतिको विकास भएसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुगेको बताएकी छिन ।

​मनाङमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री रिमालले छोटो बिदा वा अनुकूल समय मिलाएर देशका विभिन्न पर्यटकीय स्थलहरूमा घुम्ने परिपाटीले स्थानीय अर्थतन्त्र, व्यापार-व्यवसाय र रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पारेको धारणा व्यक्त गरिन ।

​आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएसँगै हिमाली जिल्लाहरूमा पर्यटन व्यवस्थापन र स्वास्थ्य सुरक्षा नयाँ चुनौतीका रूपमा उभिएको उनको भनाइ थियो। “हिमाली तथा उच्च पहाडी क्षेत्रमा आउने पर्यटकहरूमा ‘हाई अल्टिच्युड’ (लेक लाग्ने) समस्या र जोखिम बढी हुने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षा तथा सहजीकरणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ,” मन्त्री रिमालले भनिन् ।

गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यसोधा रिमाल ।

उनले हिमाली जिल्लामा रहेका प्रादेशिक अस्पताल, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय सरोकारवाला निकायहरूबीच बलियो समन्वय हुनुपर्नेमा जोड दिइन । एकीकृत समन्वय र चुस्त व्यवस्थापनबाट मात्र पर्यटकहरूलाई सुरक्षित वातावरण प्रदान गर्न सकिने उनले स्पष्ट पारिन ।

​साथै, हिमाली क्षेत्रका स्थानीय नागरिक तथा पर्यटन व्यवसायीले भोग्दै आएका समस्याहरूलाई प्रदेश सरकार र मुख्यमन्त्रीसमक्ष पुर्‍याएर तिनको व्यावहारिक समाधान खोज्न प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री रिमालले बताइन ।

प्रकाशित मिति : August 3, 2026 at 6:19 am