१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

१७ साउन, काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया र विश्वप्रसिद्ध फुटबल क्लब एफसी बार्सिलोनाबीचको पाँच वर्षे रणनीतिक साझेदारी औपचारिक रूपमा सुरू भएको छ ।

सन् २०२६/२७ सिजनदेखि लागू भएको यस सहकार्यअन्तर्गत माइडिया एफसी बार्सिलोनाको मुख्य साझेदर तथा अफिसियल होम अप्लायन्स साझेदार बनेको हो ।

सन् २०३०/३१ सिजनसम्म कायम रहने उक्त साझेदारी १ जुलाईदेखि कार्यान्वयनमा आएको हो । यससँगै एफसी बार्सिलोनाको पुरुष पहिलो टोलीले खेलका दिन तथा प्रशिक्षणका क्रममा लगाउने जर्सीको बायाँ बाहुलामा माइडियाको लोगो समावे गरिएको छ ।

एफसी बार्सिलोनाले सन् २०२६/२७ सिजनका लागि सार्वजनिक गरेको नयाँ घरेलु जर्सीमा माइडियाको लोगो पहिलोपटक देखिएको हो । क्लबको परम्परागत नीलो र गाढा रातो पहिचानलाई आधुनिक स्वरूपमा प्रस्तुत गरिएको नयाँ जर्सीले बार्सिलोनाको इतिहास, ऊर्जा र भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गरेको छ ।

यो साझेदारी जर्सीमा लोगो राख्ने प्रायोजनमा मात्र सीमित रहने छैन । आगामी पाँच सिजनसम्म माइडिया र एफसी बार्सिलोनाले संयुक्त सामग्री निर्माण, खेलदिवस सञ्चार, समर्थक सहभागिता तथा विभिन्न बजारअनुकूल गतिविधिमार्फत विश्वभरका उपभोक्ता र फुटबल समर्थकसँग जोडिने योजना बनाएका छन् ।

खेलकुदको उत्कृष्टता, प्रविधिमा नवप्रवर्तन र आधुनिक जीवनशैलीलाई एकै ठाउँमा जोड्नु यस सहकार्यको प्रमुख उद्देश्य रहेको माइडियाले जनाएको छ । दुवै संस्थाले आफ्नो क्षेत्रमा निरन्तर उत्कृष्टता, सिर्जनशीलता र दीर्घकालीन प्रभावलाई प्राथमिकता दिँदै आएका छन् ।

एफसी बार्सिलोनाका प्रथम उपाध्यक्ष राफाएल युस्तेले स्मार्ट होम समाधान, अनुसन्धान र नवप्रवर्तनप्रति माइडियाको प्रतिबद्धता भविष्यतर्फ हेर्ने बार्सिलोनाको सोचसँग मेल खाने बताएका छन् । माइडिया इन्टरनेसनल बिजनेसका अध्यक्ष लुइस फुले पनि विश्वकै सफल तथा लोकप्रिय खेल संस्थामध्ये एक एफसी बार्सिलोनासँग दीर्घकालीन सहकार्य गर्न पाउनु उत्साहजनक भएको बताएका छन् ।

माइडिया र एफसी बार्सिलोनाबीचको यो साझेदारीले नेपाली फुटबल समर्थकलाई समेत ब्रान्डसँग भावनात्मक रूपमा जोड्ने नयाँ अवसर सिर्जना गरेको छ । नेपालमा ठूलो संख्यामा रहेका बार्सिलोना समर्थकले अब आफ्नो मनपर्ने क्लबको खेल तथा प्रशिक्षण जर्सीमा माइडियाको उपस्थिति प्रत्यक्ष रूपमा देख्न सक्नेछन् ।

यस सहकार्यले माइडियाको विश्वव्यापी ब्रान्ड पहिचानलाई थप सुदृढ बनाउनुका साथै नेपाली उपभोक्तामाझ स्मार्ट, आधुनिक र सुविधाजनक जीवनशैलीसँग जोडिएको ब्रान्डका रूपमा माइडियाको उपस्थितिलाई अझ बलियो बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

सन् १९६८ मा स्थापना भएको माइडिया विश्वव्यापी प्रविधि तथा होम एप्लायन्स कम्पनी हो । माइडियाले रेफ्रिजरेटर, वासिङ मेसिन, किचन एप्लायन्स, वाटर एप्लायन्स, भ्याकुम क्लिनर तथा अन्य स्मार्ट होम समाधानहरू उपलब्ध गराउँदै आएको छ ।

नेपालमा सीजी इलेक्ट्रोनिक्सले माइडियाका उत्पादनहरूको बिक्री तथा वितरण गर्दै आएको छ । माइडियाका वासिङ मेसिन, रेफ्रिजरेटर, डिशवाशर, चेस्ट फ्रिजर, शोकेस चिलर, किचन एप्लायन्स, चिम्नी, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, आइरन, एयर फ्रायर, टोस्टर तथा एयर प्युरिफायरलगायतका उत्पादनहरू नेपाली उपभोक्तामाझ लोकप्रिय छन् ।

प्रकाशित मिति : August 2, 2026 at 12:51 pm