गणेश यादवको परिवारसँग गृहमन्त्रीको सम्झौता, नगद १० लाख र रोजागरी दिने सहमति
१७ साउन, काठमाडाैँ । सिराहाको गोलबजार क्षेत्रमा साउन १४ गते भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ। शुक्रबार औरही गाउँपालिका–२, मोतिपुरमा मृतकका अभिभावक र गृह मन्त्रालयबीच भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।
सहमतिअनुसार सरकारले मृतक गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट रु. १० लाख राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
त्यसैगरी, साउन १४ गते गोलबजार बजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने सहमतिमा उल्लेख छ।

सहमतिअनुसार मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ। साथै, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू कानुनबमोजिम कार्यान्वयन गरिने सरकारको प्रतिबद्धता रहेको छ।
यस्तै, मृतकको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिने र पार्कभित्र मृतकको शालिक स्थापना गरिने सहमति पनि भएको छ।
सहमतिमा मृतकको अन्त्येष्टि गर्ने, मृतकका श्रीमती र बहिनीलाई उपयुक्त रोजगारी उपलब्ध गराउन पहल गर्ने तथा मृतकका बुवाको उपचारका लागि आवश्यक पहल गर्ने विषय पनि समावेश गरिएको छ। दुई पक्षबिचको सहमतिपछि सिरहा शान्त देखिएको छ ।

प्रकाशित मिति : August 1, 2026 at 11:25 am



