१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

धार्मिक अगुवाहरूको संयुक्त अपिलः सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुनू

१५ साउन, काठमाडौं । सुनसरी लगायतका जिल्लामा केही दिनदेखि भइरहेको तनावबीच धार्मिक संगठनका अगुवाहरूले नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपिल गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेसँग छलफलपछि विश्व हिन्दु महासंघ, अल सलाम सोसाइटी र जमिअत उलमा ए नेपालका प्रतिनिधिहरूले संयुक्त रूपमा अपिल जारी गरेका हुन् । विश्व हिन्दु महासंघका महासवि रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दु महासंघका सचिवालय सदस्य राजुराम फुंयाल र अल सलाम सोसाइटीका अध्यक्ष नजरुल हसन फलाहीले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो। यहाँको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान राष्ट्रिय एकता र पहिचानका आधार हुनु कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुन हुँदैन भन्नेमा हामी स्पष्ट छौँ।’

सुनसरी, सिरहा तथा मधेश प्रदेशका अन्य जिल्लामा भएको घटनाको सत्यतथ्य छानबिन गरी कानूनविपरीतका कार्यमा संलग्न जोसुकैलाई कारबाही गर्न, पीडित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

‘विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिसांत्मक घटना विस्तार गर्ने प्रयास गरिरहेका बेला हामी सम्पूर्ण नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपिल गर्दछौं,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : July 31, 2026 at 3:09 pm