विद्युत पोलको भाडा बक्यौता भुक्तानी प्रक्रिया सुरुः वल्र्डलिंकले बुझायो रकम
१४ साउन, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणको लामो समयदेखि रोकिएको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ । यसै क्रममा इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत पोल भाडाको बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको हो ।
वल्र्डलिंकले आर्थिक वर्ष २०८२/८३ को स्वःघोषणाका आधारमा निर्धारण गरिएको पोल भाडा रकमबाट कर कट्टी गरी भुक्तानी प्रक्रिया अघि बढाएको छ । कम्पनीका अनुसार, आर्थिक वर्ष २०८१/८२ को हकमा भने पोल तथा डीबी बक्सको संयुक्त प्रमाणीकरणका आधारमा हिसाब मिलान गरिएको छ । यसअघि भएको दोहोरो भुक्तानीलाई समेत समायोजन गर्दै बाँकी रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले राज्यको पूर्वाधार उपयोग गर्ने सबै सेवा प्रदायकले कानुनअनुसार लाग्ने शुल्क समयमै भुक्तानी गर्नु दायित्व भएको बताएका छन । वल्र्डलिंकबाट सुरु भएको यो भुक्तानी प्रक्रियालाई सकारात्मक सुरुवातका रूपमा लिँदै मन्त्री श्रेष्ठले अन्य सेवा प्रदायकहरूले पनि कानुनबमोजिम आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे।
मन्त्री श्रेष्ठले सरकार विधिको शासन र कानुनको निष्पक्ष कार्यान्वयनमा प्रतिबद्ध रहेको स्पष्ट समेत परे । कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्याहरूलाई कानुनको सीमाभित्र रहेर समाधान गरिने उल्लेख गर्दै उनले कानुन कार्यान्वयनको विषयलाई अनावश्यक रूपमा राजनीतिक रङ्ग दिने वा भ्रम सिर्जना गर्ने प्रयासप्रति सचेत रहनुपर्ने बताएका हुन । सबैका लागि समान रूपमा कानुन कार्यान्वयन गर्ने सरकारको नीति रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।
प्रकाशित मिति : July 30, 2026 at 2:13 pm



