सुटुक्क ६५ लाख धरौटी बुझाएर हिँडेकी रश्मी दुई साता नहुँदै पक्राउ परिन
१४ साउन, काठमाडाैँ । प्रभु बैंकको ऋण अपचलनको मुद्दामा ओम प्रसाद पाण्डे सँगै पूर्पक्षका लागि कारागार चलान हुनुपर्ने पात्र थिइन रश्मी पन्त । तर पाण्डे कारागार चलान भएको दुई सातापछि उच्च अदालत पाटनमा पुगेर सुटुक्क ६५ लाख धराैटीमा छुटेकी थिइन । त्यसको दुई साता नहुँदै पहिलो पटक पक्राउ परिन ।
महनाैँदेखि प्रहरीको फारर सूचीमा रहेकी रश्मी अर्धभूमिगत रहेकी थिइन । केही सञ्चारकर्मीसँग वाट्सएपका कुराकानी गर्नेबाहेक उनी काठमाडाैँ उपत्यकामा लुकुछिपी बसिरहेकी थिइन । तर बधुबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रश्मीलाई पक्राउ गर्यो । रश्मीको तीन वटा मुद्दा अदालतमा विचाराधिन छ । त्यसमध्येको एउटा मुद्दामा उनी धराैटीमा छुटेकी थिइन भने बाँकी दुई मुद्दा बाँकी नै छ । उनै रश्मी बुधबार चाैँथो मुद्दामा पक्राउ परिन ।

प्रभु बैंककै तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पक्राउ पर्दा पनि उनी भने पूर्व न्यायाधीशको छोरी भएकोले कसैले चलाउन नसक्नै भ्रम बजारमा फ्याँकेर लुकिछिपी बसिरहेकी थिइन । तर बुधबार भने सीआईबीले पक्राउ गर्न सफल भएको छ । प्रभु बैंकमा अशोक र रश्मी भएर गरेका ऋण अपचलनाका ५० भन्दा बढी फाइल रहेका छन । केही फाइल राष्ट्र बैंकले अध्ययन गरेर प्रहरीलाई दिएपछि त्यसमाथि भने अुसन्धान गरेर मुद्दा चलाउने काम भैरहेको छ ।
रश्मी अहिले पक्राउ परेको ऋण अपचलको मुद्दामा शशीधर शर्मासँग सम्बन्धित छ । उनले नेपालको नमुना गाई फार्म चलाउने भन्दै ऋण लिएर अन्तै लगानी गरेको पाइएको छ । उनीमाथि रुपन्देहीको एशियन भिलेज रिसोर्ट प्रालिलाई ४८ करोड रुपैयाँ कर्जा दिंदा अनियमितता गरेको अभियोग छ । यसअघि यही प्रकरणमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मा पक्राउ परिसकेका छन ।
यो पनि पढ्नुहोस्
प्रभु बैंकको ऋण अपचलन : पाण्डे पूर्पक्षका लागि जेल चलान, बाँकीको पक्राउ पुर्जी जारी
रश्मीले रिसोर्टलाई कर्जा दिँदा धितो सुरक्षणका लागि मूल्यांकन भएको १० विघा जग्गा धितो रोक्का नगरी कर्जा स्वीकृत गरेकी थिइन । उनले धितो रोक्का नगरी इमेलबाटै कर्जा स्वीकृति गरेको पाइएको र उक्त कर्जा प्रयोजन अनुसार खर्च नगरी रिसोर्ट सञ्चालक पौडेलले दुरुपयोग गरेको राष्ट्र बैंकको कारबाही सिफारिसमा उल्लेख गरिएको छ ।
विगतमा रश्मीले प्रभु बैंकको रकम दुरूपयोग गरेर मिडियामा सुन्दरी बैंकरको उपाधिदेखि ५० मुनीको प्रभावशाली महिलाको उपमा समेत खरिद गरेकी थिइन । करिब पाँच महिनादेखि रश्मी भूमिगत भएपछि भने मिडियामा उनको सुन्दरताको समाचारहरू प्रकाशित हुन छाडेको छ । यद्यपी केही समय प्रहरीले पूर्वाग्रह राखेर बैंकमाथि हस्तक्षेप गरेको भन्दै समाचारहरू लेखिने गरेका थिए । अहिले त्यो पनि बन्द भएको छ ।
प्रकाशित मिति : July 30, 2026 at 9:50 am



