न्यून गुणस्तरका खाद्य पदार्थ बिक्री गरेको आरोपमा चार उद्योगविरुद्ध मुद्दा
१२ साउन, काठमाडाैं। न्यून गुणस्तरका खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा चितवनका चार उद्योगविरुद्ध पाँच वटा मुद्दा दर्ता गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो।
कार्यालयका अनुसार पूर्वी चितवनको रत्ननगरस्थित रिजाल फुड्स एण्ड बेभरेज विरुद्ध दुई वटा मुद्दा दर्ता गरिएको छ। उद्योगले उत्पादन गरेको दालमोठ र नमकिन मिक्सचर (दालमोठ) को गुणस्तर मापदण्डअनुसार नभेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।
यस्तै, खैरहनीस्थित ओमकार आयल इन्डस्ट्रिजले आयातित तोरीको गेडाबाट उत्पादन गरेको तोरीको तेलको गुणस्तर न्यून भेटिएपछि त्यस उद्योगविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ।

त्यसैगरी, भरतपुरस्थित नौलो फुड्स इन्डस्ट्रिज ले उत्पादन गर्ने सिटिसी चिया मसला र रत्ननगरस्थित आचार्य फुड उद्योग ले उत्पादन गर्ने चुक अमिलो पनि गुणस्तर परीक्षणमा मापदण्डअनुसार नभेटिएपछि ती उद्योगविरुद्ध छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयकी सूचना अधिकारी वन्दना पन्तले जानकारी दिइन्।
कार्यालयले गत आर्थिक वर्षभर खाद्य स्वच्छता र गुणस्तर सुनिश्चित गर्न व्यापक अनुगमन गरेको जनाएको छ। सो अवधिमा खाद्य स्वच्छतासम्बन्धी १० पटक आकस्मिक अनुगमन, ९२ पटक खाद्य बजार अनुगमन, २० पटक दाना बजार अनुगमन तथा ६३ पटक होटल तथा रेस्टुरेन्ट अनुगमन गरिएको थियो।
त्यस्तै, ८७ वटा खाद्य उद्योग र २२ वटा दाना उद्योग को निरीक्षण गरिएको कार्यालयले जनाएको छ। यसका साथै चार वटा हाटबजार तथा मेलामहोत्सव, ११ पटक आहार पूरक खाद्य पदार्थ, तथा आठ पटक विद्यालय र अस्पतालका क्यान्टिनको अनुगमन गरिएको थियो।
प्रकाशित मिति : July 28, 2026 at 12:47 pm



