११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

बजारमा खाना पकाउने ग्याँसको अभाव छैनः मन्त्री यादव

११ साउन, काठमाडाैं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पारेकी छन्। केही दिनदेखि बजारमा ग्याँसको अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेपछि मन्त्री यादवले यस विषयमा विशेष चासो व्यक्त गरेकी हुन्। बजारमा ग्याँसको मौज्दात र आपूर्ति अवस्थाबारे मन्त्रालयले नियालिरहेको उल्लेख गर्दै उनले उपभोक्तालाई त्रसित नहुन आग्रह गरिन्।

ग्याँस वितरणका क्रममा उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै मन्त्रालयले सर्वसाधारणलाई तत्कालका लागि अति आवश्यक मात्रामा मात्र ग्याँस खरिद गरी स्थिति सहज बनाउन सहयोग गर्न अनुरोध गरेको छ। अनावश्यक रूपमा ग्याँसको सञ्चय नगर्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ।

साथै, मन्त्री यादवले बजारमा देखिएको हालको समस्यालाई तत्काल समाधान गरी आपूर्ति व्यवस्थालाई पूर्ववत् सहज बनाउन नेपाल आयल निगमलाई आवश्यक निर्देशन समेत दिएकी छिन्। निगमले बजारको अनुगमन र वितरण प्रणालीलाई थप व्यवस्थित गर्ने जनाएको छ।

प्रकाशित मिति : July 27, 2026 at 5:23 pm