नागढुंगा–सिस्नेखोला सुरुङमार्गको औपचारिक रूपमा उद्घाटन
११ साउन, काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज सोमबार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उद्घाटन गरेका छन् । जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा उनले सुरुङमार्ग उद्घाटन गरेका हुन् ।
सुरुङमार्ग काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भई धादिङको धुनिबेँसी नगरपालिकास्थित सिस्नेखोलामा पुगेर टुंगिन्छ । यसमार्फत हालको नागढुंगा सडकखण्डमा हुने जाम, उकालो र घुमाउरो बाटो छल्न सकिने भएकाले यात्राको समय करिब एक घण्टासम्म बचत हुने अपेक्षा गरिएको छ ।

निर्माण सुरु भएको करिब ८० महिनापछि यो सुरुमार्ग औपचारिकरुपमा सञ्चालनमा आएको हो । उद्घाटन गरिएको भएपनि सुरुङमार्ग तत्काल सबै सवारीसाधनका लागि खुला गरिने छैन । सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै सञ्चालन गर्न दिइने भएको छ ।
प्रकाशित मिति : July 27, 2026 at 12:47 pm



