८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

सरकारी जग्गामा रिसोर्ट चलाउने रास्वपा नेताको पत्रकारलाई धम्की

८ साउन, पोखरा । प्रेस चौतारी नेपाल, कास्कीले पत्रकार सुमन ढुंगानालाई समाचार प्रकाशनका विषयमा दिइएको धम्कीप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ।

शुक्रबार अध्यक्ष मोतिसागर अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा प्रेस चौतारीका केन्द्रीय सदस्य तथा निष्पक्ष र सक्रिय पत्रकार ढुंगानामाथि भएको दुर्व्यवहार र धम्कीको घटनालाई प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहारको संज्ञा दिइएको छ।

विज्ञप्तिअनुसार पत्रकार ढुंगानाले पोखरा महानगरपालिका–३३ मा नेपाल सरकारको स्वामित्वमा रहेको सार्वजनिक जग्गामा भइरहेको भनिएको अतिक्रमण तथा त्यहाँ सञ्चालित रिसोर्टसम्बन्धी तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गरेका थिए । सोही समाचारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा–३३ वडा समितिका सभापति दिनेश आचार्यले अपशब्द प्रयोग गर्दै धम्की दिएको प्रेस चौतारीको आरोप छ।

प्रेस चौतारी कास्कीले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट गर्दै सत्यतथ्य समाचार सम्प्रेषण गर्ने पत्रकारलाई धम्क्याउने कार्य लोकतान्त्रिक मूल्य–मान्यता विपरीत रहेको जनाएको छ।

यसैबीच पत्रकार सुमन ढुंगानाले जिल्ला प्रशासन कार्यालय, कास्कीमा निवेदन दिँदै आफूलाई समाचार प्रकाशनका कारण मानसिक दबाब, अपमानजनक व्यवहार तथा ज्यानको समेत धम्की दिइएको उल्लेख गरेका छन्। निवेदनमा उनले सार्वजनिक हितसँग सम्बन्धित विषयमा तथ्यका आधारमा समाचार प्रकाशन गरेको भन्दै घटनाको निष्पक्ष अनुसन्धान गरी आफ्नो सुरक्षाको प्रत्याभूति गर्न माग गरेका छन्।

प्रेस चौतारी नेपाल, कास्कीले धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याई निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सम्पूर्ण सञ्चारकर्मी र नागरिक समाजलाई एकजुट हुन आह्वान गरेको छ।

पत्रकार ढुंगाना लामो समयदेखि खोजमूलक र तथ्यमा आधारित पत्रकारितामार्फत सार्वजनिक सरोकारका विषय उजागर गर्दै आएका पत्रकारका रूपमा परिचित छन् । उनीमाथि भएको धम्कीको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षित वातावरणबारे पुनः गम्भीर प्रश्न खडा गरेको सरोकारवालाहरूको भनाइ छ।

प्रकाशित मिति : July 24, 2026 at 11:52 pm