५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

निकुञ्जभित्र च्याउ खाेज्न जाँदा सम्पर्कविहीन भएका महिला सम्पर्कमा, सबै सुरक्षित

४ साउन, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततःसम्पर्कमा आएका छन् ।  भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका  रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका  महिलाहरु  परिवारको सम्पर्कमा आइसकेको जानकारी दिए ।
“सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजीकार्य व्यापाक पारिएको थियो”, उनले भने, “केहीबेर अघि परिवारको सम्र्पकमा आएको र सबै सुरक्षित रहेको खबर प्राप्त भयो ।”
त्यसैगरी, आइतबार साझँदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई भने गणका सहसेनानी सुमन जिसी नेतृत्वको टिमले उद्धार गरेको थियो ।
उनीहरुलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा सुम्पिएको छ । निकुञ्जमा अवैध च्याउ टिप्न गएका तीन वटा महिला समूह सम्र्पकविहीन हुँदा सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन खोजीकार्यमा जुटेका थिए ।

प्रकाशित मिति : July 20, 2026 at 1:08 pm