म्याराथनको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण विजेता पुष्पा भण्डारीविरूद्ध बहुविवाहको मुद्दा
३१ असार, दाङ । म्याराथनको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण विजेता पुष्पा भण्डारीविरूद्ध बहुविवाहको मुद्दा परेको छ । जिल्ला अदालत दाङमा लुमाकली बुढाथोकी ललिताले सशस्त्र प्रहरी सहायक निरीक्षक समेत रहेकी पुष्पाविरूद्ध बहुविवाहको मुद्दा हालेकी हुन ।
ललितको मुद्दामा श्रीमान गणेश आचार्य भने मंगलबार पूर्वपक्षका लागि कारागार चलान भएका छन । आचार्यले घरमा श्रीमति र छोरी हुँदाहुँदै अर्को विवाद गरेको भनेर श्रीमतिले मुद्दा हालेकी थिइन । जिल्ला अदातल दाङका न्यायाधीश ताराप्रसाद डाँगीको एकल इजलाशले पुष्पा र गणेश प्रतिवादी भएको बहुविवाहको मुद्दामा पूर्पक्षका लागि थुनामा पठाउने आदेश सोमबार जारी गरेको थियो । सोही आदेश अनुसार गणेश भने कारागार चलान भैसकेका छन । पुष्पा भने अदलातमा उपस्थित नभएको जिल्ला अदालत दाङका सूचना अधिकारी गोकर्ण वलीले जानकारी दिए ।
आचार्यको श्रीमती ललिताले गणेश र पुष्पाकोविरूद्धमा प्रहरीमा उजुरी दिएपछि २०८२ फागुन १४ गते जिल्ला सरकारी वकिलको कार्यालय दाङले जिल्ला अदालत दाङमा मुद्दा दर्ता गरेको थियो ।
सशस्त्र प्रहरीका प्रवक्ता नेत्र बहादुर कार्कीले दैनिकीसँग कुरा गर्दै पुष्पाका बारेमा अहिलेसम्म संगठनले कुनै पनि खालको अाधिकारिक जानकारी नपाएको बताउँदै जानकारीपछि कानुन अनुसार हुने बताए । उनले विभिन्न खालका मुद्दामा विभिन्न खालका कारबाही भएको बताउँदै कसुर अनुसार संगठनको नियम अनुसार कारबाही हुने बताए ।

नेपालमा बहुविवाह दण्डनीय मानिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ अनुसार बहुविवाह निषेध गरिएको छ। उक्त व्यवस्थाअनुसार वैवाहिक सम्बन्ध कायम रहँदासम्म अर्को विवाह गर्न पाइँदैन । विवाहित व्यक्ति भएको थाहा हुँदाहुँदै त्यस्तो व्यक्तिसँग विवाह गर्ने व्यक्ति पनि कानुनी कारबाहीको दायरामा पर्न सक्छ । यस्तो कसुर प्रमाणित भएमा १ वर्षदेखि ५ वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । बहुविवाह गरी गरिएको दोस्रो विवाहले कानुनी मान्यता पनि पाउँदैन।
भण्डारी सशस्त्र प्रहरी बल (एपीएफ) क्लबकी सदस्य हुन । उनले यही क्लबबाट देश भित्र र बाहिर म्याराथनको प्रतिस्पर्धामा सहभागिता जनाउँदै अाएकी थिइन । सल्यान स्थायी घर भएकी पुष्पा दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि म्याराथनमा पदक जित्ने पहिलो महिला खेलाडी हुन् । १३औं सागको महिला म्याराथनमा रजत पदक जित्दै उनले इतिहास रचेकी थिइन् ।
उनले बंगबन्धु शेख मुजिब ढाका म्याराथन सन् २०२१ को संस्करणमा दक्षिण एसियाली महिलातर्फ स्वर्ण पदक जितेकी थिइन् । पछि उनले सोही प्रतियोगितामा आफ्नो च्याम्पियनसिप उपाधि पनि रक्षा गरिन् । अन्य राष्ट्रिय प्रतियोगिता: प्रधानसेनापति म्याराथन, झिल्टुङ क्रस कन्ट्री र कर्नाली हाफ म्याराथन लगायतका थुप्रै राष्ट्रिय प्रतियोगिताहरूमा उनी च्याम्पियन तथा पदक विजेता बनेकी छिन् ।

प्रकाशित मिति : July 15, 2026 at 5:59 pm





