प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश आचार्य पूर्पक्षका लागि कारागार चलान
३१ असार, दाङ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका सहइन्चार्ज गणेश आचार्य पूर्पक्षका लागि कारागार चलान भएका छन । बहविवाहको मुद्दामा जिल्ला अदातल दाङको आदेश अनुसार आचार्य पूर्पक्षका लागि कारागार चलान भएका हुन ।
न्यायाधीश ताराप्रसाद डाँगीको एकल इजलाशले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि आचार्य कारागार चलान भएका हुन । एमाले महासचिव शंकर पोखरेलका लागि प्रेस सल्लाहकार/संयोजकको रूपमा कार्यरत आचार्यलाई पूर्पक्षमा पठाउन मंगलबार न्यायाधीश डाँगीको इजलाशले आदेश जारी गरेको थियो ।
आचार्यलाई काठमाडौँ उपत्यका अपराध अननुसन्धान कार्यालय टेकुले पक्राउ गरी दाङ पठाएको थियो । राजनीतिक पहुँचको आधारमा अदालतको म्याद गुजारेर बसेका आचार्यलाई जिल्ला प्रहरी कार्यालय दाङको पत्र अनुसार पक्राउ गरेर दाङ पठाएको थियो ।

आचार्यसँगै प्रतिवादी बनाइएकी पुष्पा भण्डारी भने अदालतमा पेश नभएको जिल्ला अदालत दाङका सूचना अधिकारी गोकर्ण वलीले जानकारी दिए । भण्डारी सशस्त्र प्रहरी सहायक निरीक्षक हुन । उनी सशस्त्र प्रहरीको खेलकुद टोली (APF क्लब) मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगिताहरूमा सहभागी हुँदै आएकी छिन् । भण्डारीको नाममा पनि अदालले म्याद तामेल गरिसकेको छ ।
आचार्यको श्रीमती लुमाकली बुढाथोकी ललिताले गणेश र गणेशले विवाह गरेको पुष्पा भण्डारीको उजुरीपछि २०८२ फागुन १४ गते जिल्ला सरकारी वकिलको कार्यालय दाङले मुद्दा दर्ता गरेको थियो । मुद्दासँगै अदालतमा पेश भएका आचार्य २०८२ फागुन १५ गते धरौटीमा छुटेका थिए । न्यायाधीश रोमाकान्त ज्ञवालीको आदेशले आचार्य धरौटीमा छुटेका थिए ।
नेपालमा बहुविवाह दण्डनीय मानिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ अनुसार बहुविवाह निषेध गरिएको छ। उक्त व्यवस्थाअनुसार वैवाहिक सम्बन्ध कायम रहँदासम्म अर्को विवाह गर्न पाइँदैन । विवाहित व्यक्ति भएको थाहा हुँदाहुँदै त्यस्तो व्यक्तिसँग विवाह गर्ने व्यक्ति पनि कानुनी कारबाहीको दायरामा पर्न सक्छ । यस्तो कसुर प्रमाणित भएमा १ वर्षदेखि ५ वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । बहुविवाह गरी गरिएको दोस्रो विवाहले कानुनी मान्यता पनि पाउँदैन।

प्रकाशित मिति : July 15, 2026 at 5:10 pm





