३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

प्रभु बैंकको ४८ करोड ऋण अपचलनमा पूर्व पत्रकार शर्मा पक्राउ

३० असार,  काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत प्रभु बैंक लिमिटेडबाट लिएको करिब ४८ करोड रुपैयाँ ऋण दुरुपयोग गरेको आरोपमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशीधर शर्मालाई पक्राउ गरेको छ।

सीआईबीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको हो।

विज्ञप्तिअनुसार एशियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंकबाट करिब ४८ करोड रुपैयाँ ऋण लिएको थियो। तर कम्पनीले बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने भनी कबुलियतमा कागजात तयार गरी ऋण लिएको र कम्पनीका अध्यक्षसँग पारिवारिक सम्बन्ध भएका व्यक्ति तथा आफैं संलग्न अन्य कम्पनीहरूको खातामा ऋण रकम दुरुपयोग गरी बैंकिङ कसुर गरेको आरोप लगाइएको छ।

सीआईबीका अनुसार बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकबाट लिएको ऋणको उद्देश्यविपरीत प्रयोग गरिएको भन्दै नेपाल राष्ट्र बैंकको अनुरोधमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएपछि बुधबार काठमाडौं महानगरपालिका–९, सिनामंगलबाट शर्मालाई पक्राउ गरिएको हो।

पक्राउ शर्मा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–४ निवासी ५४ वर्षीय हुन्। उनी एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष रहेको सीआईबीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

शर्मा नेपालकै सबैभन्दा ठूलो गाई फार्मको रूपमा चर्चामा रहेको ‘लुम्बिनी एग्रो प्रोडक्ट्स एन्ड रिसर्च सेन्टरका पनि मालिक हुन । शर्मा पूर्व पत्रकार र शिक्षक समेत हुन । उनी बुटवलबाट प्रकाशित हुने ‘दैनिकपत्र’ का संस्थापक हुन भने रेडियो लुम्बिनीका संस्थापक हुन । २०६३ सालसम्म पनि पाैडेलले पत्रकारिता गरिरहेका थिए । उनी त्यसपछि अमेरिका पुगेर फर्किए । त्यसपछि ऋण लिएर व्यवसायमा लागेका थिए । शर्माले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन ।

विष्णु पाैडेलसँग पनि जोडिए 

प्रहरी स्रोतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि शर्मा प्रकाउ परेको बताएको छ । विज्ञप्तिमा ऋण अपचलनको विषय उल्लेख गरिएको भए पनि शर्मासँग विष्णु पाैडेलको कारोबारको विषयमा कुराकानी गर्न पक्राउ गरिएको बताइएको छ । पूर्वअर्थमन्त्री पौडलमाथि विभागले अनुसन्धान जारी राखेको छ ।

असार ८ गते सुर्खेतबाट पक्राउ परेका पाैडेल निरन्तर प्रहरी हिरासतमा रहेका छन । अदालतले पौडेलका नाममा पाँच पटक समय थपिसकेको छ । शर्माले पाैडेलको सम्पत्ति शुद्धिकरणमा मतियारको रूपमा काम गरेको तथ्य र प्रमाणहरू भेटिएका छन । यसअघि दीपक भट्टदेखि कमल मालपानी र चुन्नुप्रसाद पाैडेलसँग पनि पाैडेलको कनेक्सन देखिएको दाबी प्रहरीले गरेको थियो ।

प्रकाशित मिति : July 15, 2026 at 12:08 am