दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त
२९ असार, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका घिमिरेले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन् ।
नियुक्तिपत्र प्रदान गर्दै सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएर जिम्मेवारीमा आएका अध्यक्ष घिमिरेप्रति उच्च अपेक्षा रहेको बताए। सिफारिस समितिले न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी ढङ्गले जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वासका आधारमा उनलाई छनोट गरेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले नियामक निकायले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए।
उनले दूरसञ्चार क्षेत्रका विद्यमान समस्या समाधानलाई प्राथमिकतामा राख्न, कानुनी जिम्मेवारीअनुसार निष्पक्ष रूपमा काम गर्न तथा नागरिकको हित र सेवाको गुणस्तरलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न निर्देशन दिए। अधिकारको दुरुपयोग नगरी अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्न पनि उनले सुझाव दिए।

मन्त्री तिमिल्सिनाले सूचना तथा सञ्चार मन्त्रालयले आवश्यक नीतिगत तथा संस्थागत सहयोगका लागि उपयुक्त वातावरण बनाउन सदैव तयार रहेको उल्लेख गर्दै दूरसञ्चार प्राधिकरणको नेतृत्वले जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्ने विश्वास व्यक्त गरे।
नवनियुक्त अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान कमी–कमजोरी हटाउँदै समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कानुन, नियम र नीतिको परिधिभित्र रहेर दूरसञ्चार क्षेत्रको विकास, सेवा विस्तार तथा सुशासन प्रवर्द्धनका लागि काम गर्ने बताए।
घिमिरेले नागरिकमुखी, उत्तरदायी र प्रभावकारी दूरसञ्चार क्षेत्र निर्माणलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने उल्लेख गर्दै आवश्यक निर्णय लिन आफू दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित मिति : July 13, 2026 at 5:46 pm




