अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा
२८ असार, काठमाडौँ । स्विट्जरल्याण्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अब उसले फाइनल प्रवेशका लागि इग्ल्याण्डसँग खेल्नेछ ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ११२ औँ मिनेटमा जुलियन अल्भारेजले जे. लोपेजको पासमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए ।

खेलको १० औँ मिनेटमा कप्तान लियोनेल मेसीको पासमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको अर्जेन्टिनाविरुद्ध दोस्रो हाफमा स्विट्जरल्यान्डले सशक्त पुनरागमन गरेको थियो । ६७ औँ मिनेटमा डान न्डोएले रिकार्डो रोड्रिगेजको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
खेलको ७२ औँ मिनेटमा ब्रिल एम्बोलोले दोहोरो पहेँलो (रातो) कार्ड खाँदै मैदान छाडेपछि स्विट्जरल्यान्ड १० खेलाडीमा समेटिएको थियो । १० खेलाडीमा सीमित भए पनि स्विट्जरल्यान्डले निर्धारित समयसम्म अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल भयो ।
अतिरिक्त समयमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको सेमिफाइनल यात्रा सहज बनाएका थिए । खेलको अन्तिम समयमा लाउटारो मार्टिनेजले गोल गर्दै ३-१ को जितसहित अर्जेन्टिना सेमिफाइनल पुगेको हो ।
प्रकाशित मिति : July 12, 2026 at 9:40 am





