मृत अवस्थामा फेला परे सञ्चारकर्मी सुवेदी
२७ असार, काठमाडाैँ । अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका भुटानी मूलका नेपाली सञ्चारकर्मी हरि सुवेदी मृत फेला परेका छन । सोमबारदेखि सम्पर्कविहीन रहेका सुवेदीको शव फेला परेको र परिवारले पुष्टि गरेको छ । सुवेदीका दाजु कृष्ण सुवेदीले फेला परेको शव हरि सुवेदीकै भएको पुष्टि गरेका हुन ।
ओहायोमा आफूले सञ्चालन गर्दै आएको अन्नपूर्णा ग्रोसरीज एलएलसी रहेको भवनमा आगलागी भएपछि मृत अवस्थामा फेला परेका हुन । सुवेदी सम्पर्कविहीन भएपछि परिवार, साथीभाइ तथा भुटानी नेपाली समुदायले व्यापक खोजी गरेका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ह्यामिल्टनस्थित डिक्सी हाईवेमा रहेको पूर्व टाउन एन्ड कन्ट्री फर्निचर भवनमा सोमबार साँझ करिब ८ः४५ बजे आगलागी भएको थियो । आगो नियन्त्रणमा लिएपछि अग्निनियन्त्रकहरूले भवनभित्र एक व्यक्तिको शव फेला पारेका थिए, जसको पछि हरि सुवेदीका रूपमा पहिचान भएको हो ।
सुवेदीले कोल्मबस अनडरग्राउण्ड रेडियोमार्फत नेपाली भाषाको लोकप्रिय रेडियो कार्यक्रम ‘हाम्रो आवाज’ सञ्चालन गर्दै आएका थिए । सुवेदी नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन, समुदायलाई सूचना तथा जनचेतनामूलक सन्देश प्रवाह गर्ने कार्यमा सक्रिय थिए ।
प्रकाशित मिति : July 11, 2026 at 6:47 am





